१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

अधिकारीले मन्त्रीको जिम्मेवारी पाएपछि कपिलवस्तुवासी खुशी



कपिलवस्तु ।

२०७९ सालको निर्वाचनमा तत्कालीन सत्तारुढ गठबन्धन दलको ‘हेभिवेट’ उम्मेदारका रुपमा रहेका नेकपा माओवादीका सचिव तथा पूर्वमन्त्री बलदेव खनाललाई फराकिलो मतान्तरले हराएर चर्चामा आएका कपिलवस्तुका बलराम अधिकारी बुधबार भूमि व्यवस्था मन्त्री बनेका छन् । मन्त्रीको जिम्मेवारी पाएपछि कपिलवस्तु वासी खुशी भएका छन् । नेकपा एमालेमा रहेर लामो समय राजनीतिमा होमिएका अधिकारीले पहिलो पटक मन्त्रीको जिम्मेवारी पाएका हुन् । उनी मन्त्री बनेपछि कपिलवस्तुलाई न्याय भएको र केही नयाँ काम हुने आशामा जनता उत्साहित भएका हुन् ।

त्यसो त तुलनात्मक रुपमा कपिलवस्तुमा कमजोर मानिएको उनको पार्टी नेकपा एमालेका उम्मेदारलाई बलियो गठबन्धनविरुद्ध एक्लै लडेर जिल्लामा धेरै ठाउँमा जित दिलाएको श्रेय पनि उनले पाएका थिए पार्टीको जिल्ला इन्चार्जको रुपमा काम गरेकाले ।

त्यसमाथि त्यो निर्वाचनमा केपी ओलीपछि सबैभन्दा फराकिलो मतान्तरले जितेर पनि उनी चर्चामा आएका थिए । शिक्षण पेशा छाडेर पूर्णकालीन राजनीतिमा लागेका अधिकारी पार्टीभित्र सादगी र संघर्षशील नेताको रुपमा चिनिन्छन् ।

पटक–पटक पार्टीको तर्फबाट नजित्ने ठाउँमा उम्मेदार भएर पार्टी बलियो बनाएको र सांसद भएपनि मन्त्रीको अवसर नपाएको सूचिमा रहेका उनलाई यसअघिको गठबन्धनबाट मन्त्री बनाउने अन्तिम सूचिमा रहेपनि अन्तिम समयमा अधिकारीको नाम काटेर राष्ट्रिय सभा सदस्य विमला पौडेललाई परराष्ट्र मन्त्री बनाइएको थियो ।

विसं २०३३ देखि एमालेको विद्यार्थी राजनीतिबाट आन्दोलनमा लागेका सांसद अधिकारी कपिलवस्तु निर्वाचन क्षेत्र नं १ बाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्छन् । उनी २०५४ सालदेखि २०७९ सम्म एमाले कपिलवस्तुको मुख्य जिम्मेवारीका रहेर काम गरेका थिए । १५ वर्ष सम्म नेकपा एमाले कपिलवस्तुको जिल्ला अध्यक्ष भएर काम गरेका थिए ।

सांसद अधिकारी २०७० सालदेखि २०७७ सम्म अञ्चल, प्रदेश कमिटी, २०७८ सालदेखि एमाले केन्द्रीय सदस्य तथा एमाले कपिलवस्तुको इन्चार्जको जिम्मेवारीमा रहेर काम गरे । वि.सं २०५६ र २०६४ मा क्रमशः क्षेत्र नं ३ र १ बाट सांसदको उम्मेदवार बनेपनि विजयी हुन नसकेका नेता अधिकारी २०७० सालमा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।

कास्कीमा जन्मेर कपिलवस्तु बसाई सरेर आएका उनी शिवगढी सुन्दरीडाँडामा प्रधानाध्यापक भएका थिए । शिक्षक संगठनको अध्यक्ष भएर काम गरेका उनी शिक्षण छाडेर राजनीतिमा होमिएका हुन् । वाणगंगा ८ चप्परगाउँ स्थायी बसोबास रहेका अधिकारीकी श्रीमति बसुन्धरा अधिकारी पनि पार्टीको पूर्णकालीन छन् ।

एक छोरा र दुई छोरीको बिहेबारी गरिदिएका अधिकारीका दुवै जना राजनीतिमा लागेका छन् । उनका छिमेकी तथा प्राध्यापक बसन्तराज खनाल पार्टीभित्र लामो समय संघर्ष र योगदान गरेका नेता अधिकारीलाई मन्त्री बनाएर न्याय भएको बताए छन् । बहिनी निर्मला अधिकारी शर्मा लामो समय जनसांस्कृतिक मन्चमा काम गरेर हाल दिल्लीमा रहेकी छन् ।

एमालेको केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज रहेको समयमा जिल्लाको दक्षिणी क्षेत्रमा निकै कमजोर रहेको जिल्लामै पार्टी मजबुत बनाएको र अधिकांश क्षेत्रमा जित दिलाएको जस उनले पाएका थिए । यो पटक मन्त्रीमा नयाँ अनुहार र दुई पटक चुनाव जितेकालाई मन्त्री बनाउने मापदण्डअनुसार अधिकारी मन्त्रीको लिष्टमा परेका हुन् ।

उनलाई सोमबार राति बन्त्री बन्नका लागि तयारी अवस्थामा रहन भनिएको थियो । पछिल्लो निर्वाचनमा माओवादीका सचिव बलदेवलाई १५ हजार ६९२ मतान्तरले पराजित गरेका हुन् । अधिकारीले ३४ हजार ६७५ मत पाउँदा खनालले १८ हजार ९८३ मत पाएका थिए ।

०७४ मा तत्कालीन बामगठबन्धनबाट विजयी भएका खनाल पटक पटक मन्त्री भएको र माओवादी अध्यक्ष प्रचण्डका विश्वास पात्र मानिने भएकाले पनि उनलाई पराजित गरेर अधिकारी चर्चामा आएका हुन् । यो क्षेत्रमा तत्कालीन गठबन्धनको मत आंंकलनमा खनाल धेरै बलियो देखिन्थे तर चुनाव जित्न सकेनन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८० शुक्रबार ००:००  ८ : २१ बजे