१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

जिल्लामै पहिलो डायलाइसिस सेवा बाणगंगामा सञ्चालन



कपिलवस्तु ।
जिल्लाकै पहिलो डायलाइसिस सेवा बाणगंगाबाट सञ्चालनमा आएको छ ।

मृगौलाका विरामीका लागि सुरु गरिएको यो सेवा कपिलवस्तुमै पहिलो हो ।

रोटरी क्लब सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको शाखाको रुपमा कपिलवस्तु सामुदायिक डाइलाइसिस सेन्टर सञ्चालनमा आएको हो ।

बाणगंगा १ मा रहेको जेसिज भवनमा सुरु गरिएको यो सेवाबाट मृगौलाका विरामीले केही राहत पाउनेछन् ।

मृगौला रोग लागेमा यो रोगको विकल्प भनेको डाइलाइसिस हो । डाइलाइसिस भनेको हाम्रो शरीरको अति नै महत्वपूर्ण अङ्ग मृगौला बिग्रिएमा वा मृगौलाले काम नगरेको अवस्थामा मेसिनको माध्यमबाट हाम्रो शरीरमा रहेका विकार वस्तु फाल्ने काम डाइलाइसिस हो ।

सोमबार यसको परिक्षण गरिएको छ । ट्रायल फेजमा रुपमा चार जना बिरामीलाई राखेर प्रशिक्षण गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल डाइलाइसिस सुपरभाइजर विमल भुसालले जानकारी दिए । उनले यो परीक्षणको रिर्पोट सरकारमा पठाएर सरकारबाट स्वीकृत पाएमा निरन्तर रुपमा सेवासुविधा प्रदान गरिने बताए ।

यस्तै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका प्रमुख प्रशासकीय अधिकृत कमल भण्डारीले कपिलवस्तु सामुदायिक डाइलाइसिस सेन्टरको ट्रायल परिक्षण सेवा अबको हप्ता दश दिनमा सरकारबाट अनुमति पाउन साथ यो सेवा निरन्तर रुपमा प्रदान गर्ने बताए ।

उनले खासगरी यो सेवा अर्घाखाँची र कपिलवस्तुका मृगौला सम्बन्धित बिरामीलाई मध्यनजर गर्दै कपिलवस्तुमा सञ्चालन गरिएको बताए । साथै उनले बिरामीलाई बुटवल जादा लाग्ने समय र खर्च पनि बचत हुने जानकारी दिए ।

दुई वर्षदेखि पहल गर्दा गर्दै पनि विभिन्न वाधा अवरोधका बीच कपिलवस्तु सामुदायिक डाइलाइसिस सेन्टरबाट डाइलाइसिस सेवा सुरुवात गरिएको अस्पतालका प्रमुख भण्डारीले भने ।

जिल्लामा लामो प्रयास पश्चात डायलाइसिस सेवा शुभारम्भ भएकोमा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले खुसी व्यक्त गरे । उनले भने, ‘खुसीको समाचार, अन्त्यमा हामी यहाँसम्म आइपुग्यौँ । आज ४ जनाको डायलाइसिस गरी कपिलवस्तु डायलाइसिस सेन्टरमा परिक्षण सेवा सुरुभयो । अब छिट्टै नियमित सेवा सुरु हुनेछ ।’

प्रकाशित मिति : २८ फाल्गुन २०८० सोमबार ००:००  ८ : ५३ बजे