१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

हथौँसा मेलाको मुख्य आकर्षण जुवातास ! प्रहरी प्रशासनको रेखदेखमै हुन्छ हरेक बर्ष यस्तो धन्दा



मायादेवी अनलाइन, बाणगंगा ।
सार्वजनिकस्थलमा जुवातासजन्य गतिविधिको प्रत्यक्ष दृश्य देख्न सकिन्छ, हथौसा मेलामा । कपिलवस्तु बाणगंगा नगरपालिकास्थित हथौसामा महाशिवरात्रीको अवसर पारेर हरेक बर्ष महाशिवरात्री मेला आयोजना हुन्छ । यसबर्ष पनि यहाँ मेला लागेको छ ।

उल्लेख्य दर्शकको उपस्थितिमा सञ्चालन भइरहेको मेलाको मुख्य आकर्षण जुवातासजन्य गतिविधि छ । नेपालदेखि सीमावर्ती भारतबाट समेत जुवातासजन्य गतिविधिमा सरिक हुन यहाँ आउने गरेका छन् । जुवातासका परम्परागत खेलदेखि आधुनिक खेलसम्म यहाँ हुने गरेको छ । झण्डै दर्जनको संख्यामा यस्ता खेल यहाँ सञ्चालन भइरहेको छ । मेला भर्न आउने अधिकांश युवापिढी यसमा संलग्न हुने गरेका छन् । पैसाबाट पैसा कमाउने लोभमा युवाहरु यी खेलजन्य गतिविधिमा आवद्ध हुने गरेका छन् ।

संगठित रुपमा खेलाइएको जुवातासको खेलमा जित्ने भन्ने त कुरै छैन् । जुवा खेलाउने गिरोहको ‘हप्किदप्की’का कारण जितेको पैसासमेत पाउन मुस्किल छ । जो खेल्यो, त्यो फस्यो, अचम्मको ‘रामलिला’ हथौसा मेलाको जुवातासखालमा देखिन्छ ।

मायादेवीका संवाददाता सोमबार यही जुवातासको रिर्पोटिङका क्रममा झण्डै आधा घण्टा विताए । ठूलो गिरोहका बीच संवाददातालाई प्रमाण जुटाउन हम्मेहम्मे प¥यो । तस्बिर खिच्नै यहाँ मनाई छ । जसले आफ्नो मोबाइल देखाउँछ, त्यसलाई ठूला ठूला आँखा देखाएर खालान् झै गरी गिरोहले नजर लगाउँछ । यस्तो बेला तस्बिर खिच्ने आँट कसलाई आओस् । जसातसो मोबाइलबाट जुवातासको प्रमाण खिचेका मायादेवी संवाददाताले जुवातासमा प्रहरी प्रशासनको संलग्नता पनि आफ्नै भिडिओमा कैद गर्न सके । प्रहरी कर्मचारी यो जुवातासखालमा खुलेयाम देखिन्थे । कतिपय प्रहरी जवान त युवा जुवामा हार्दा मुसुमुसु हाँस्दै थिए ।

जुवातास खेलाउने कतिपय भारतीय नागरिक छन् । सट्टेवाजमा पोख्त कतिपय भारतीयहरु जुवातासका नयाँ नयाँ उपायहरु लिएर यस मेलामा आएका छन् । थोरै पैसाले तेब्बर पैसा कमाउने गरी गरिएका प्रचारका बीच नौजवानहरु यस जालमा फस्ने गरेका छन् ।

मेलाको दक्षिण भेगमा खेलाइएको जुवातासजन्य गतिविधिको संख्या झण्डै दर्जन छ । यसको माहोल यस्तो छ कि यो मेलाको मुख्य आकर्षण भनेकै जुवातास हो ।

जुवातासजन्य गतिविधिमा संलग्न गराउने र गर्नेलाई कानूनी कारबाहीको प्रबन्ध छ । कारबाहीको मुख्य अधिकारी प्रहरी प्रशासन हो । तर, प्रहरी प्रशासननै मुखदर्शक हुँदा हथौसा मेलामै सार्वजनिकस्थलमा खुलेयाम जुवातासको धन्दा चलेको हो ।

जुवातासको धन्दा यो बर्ष मात्र होइन् । हरेक बर्ष यहाँ यो धन्दा चल्छ । प्रहरी प्रशासन, मेलाका मुख्य सरोकारवालालाई मिलाएर चलाइने यो धन्दा बन्द भने हुन सकेको छैन् । स्थानीय मिडियाले समेत यो धन्दाबारे पटक पटक मेलामा आवाज उठाएपनि नियन्त्रण हुन सकेको छैन् ।

प्रत्येक जुवातासको खालबाट प्रहरीले दैनिक रकम उठाउने गरेको मेला आयोजक मध्ये एक जना सदस्यले मायादेवीलाई बताए । ‘हामीले यो धन्दा नगरौं भनेको हो । तर भन्ने मात्र भएको छ । मेला ठेकेदारले ठेक्कामा लिएका हुन्छन्, उनीहरुलाई यसो गर, उसो गर भनेर हामीले भन्न पाउँदैनौं । विशेषगरी अवैध गतिवधिको नियन्त्रण त प्रहरी प्रशासनले हो नि गर्ने,’ उनले भने ।

‘कुनैपनि मेला, महोत्सव आयोजना गर्नू पूर्व स्थानीय प्रशासनको स्विकृति लिनुपर्छ । शान्ति सुरक्षाका लागि प्रहरी तैनाथ पार्ने गरिन्छ । यस्तो माहोलका बीच कानून भन्दा विपरितका गतिविधि गर्ने आँट कस्को हुन्छ ? प्रहरीकै अनूमति लिएरै हथौसा मेलामा जुवातासको अवैध धन्दा चलेको हो, उनले भने ।

परापूर्वकालदेखि यहाँ शिवरात्रीको अवसर पारेर मेला लाग्दै आएको जानकार बताउँछन् । शिवरात्रीको उल्लासमा आयोजना हुने यो मेला मूलतः हिउँदयाम सकिएर बसन्त ऋतुको आगमनसंगै लाग्ने गर्छ । किसानहरुको विक्रिस्थलका रुपमा परिचित यो मेला आधुनिकतासँगै महोत्सवको रुपमा ढल्किन थालेको छ । मेला भर्न आउने दर्शक संख्याको उपस्थिति, मेलामा राखिएका विभिन्न पिङ, यहाँ राखिएका स्टल कुनै महोत्सवमा देखेभन्दा फरक छैन् । केवल किसानले विक्री गर्न कृषिजन्य उपज, जडीबुटीका पसल सिमित संख्यामा मुलबाटो वरपर मात्र देख्न सकिन्छ ।

हरेक बर्ष मेला गर्दै आएको मुख्य आयोजक संस्था हथौसा माविले यो मेला कृषिउपज विक्रीको लागि प्रख्यात रहेको बताउँदै आएको छ । तर, पछिल्लो समय यो मेला आधुनिक बन्दै गएको छ । यो बर्ष हथौसा माविले एक स्थानीय ठेकेदारलाई रु. १२ लाखमा ठेक्का दिएको छ ।

यता इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक गोपाल रायमाझीले हथौसा मेलामा प्रहरीको मिलेमतोमा जुवातास खेलाइएको भन्ने शब्दमा आपत्ति जनाए । ‘मेलामा जुवातास खेलाइएको छैन्, खोरखोरे खेलाइएको छ भन्ने सुनिन आएको छ, त्यसलाई पनि आज खेल्न दिइदैँन्, उनले मायादेवीसँग भने ।’

प्रकाशित मिति : २९ फाल्गुन २०८० मंगलबार ००:००  ८ : ४० बजे