१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

बाणगंगा प्रज्ञा प्रतिष्ठानको संयोजकमा बालाराम ज्ञवाली



बाणगंगा, मायादेवी अनलाइन ।
बाणगंगा नगरपालिकाको १४ औं कार्यपालिका वैठक विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ । मंगलबार बसेको कार्यपालिका वैठकले नगरको बाणगंगा प्रज्ञा प्रतिष्ठानको संयोजक पदमा प्राज्ञिक व्यक्तित्व वालाराम ज्ञवालीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

नगर प्रमुख चक्रपाणी अर्यालले प्रतिष्ठानलाई प्रभावकारी बनाउन संयोजकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । बाणगंगा- १ शान्तिटोल निवासी बालाराम ज्ञवाली सिद्धार्थ क्याम्पस वाणगंगाको पूर्व क्याम्पस प्रमुख हुनुहुन्छ । त्यस्तैगरी जनता मा.वि. पिपराको पूर्व प्र.अ. भै लामो समय शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो । देश विदेशको अनुभव हासिल गर्नुभएका ज्ञवाली बिभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गर्दै आउनु भएको थियो ।

नगर कार्यपालिका बैठकले बाणगंगा नगर प्रज्ञा प्रतिष्ठान गठन तथा संचालन ऐन यस अघिनै पारित गरेको थियो ।
बैठकले चैत्र ८ गते नगरपालिकालाई पूर्ण संस्थागत प्रसुती पालिका घोषणा गर्ने निर्णय गरेको छ । जिल्लाकै पहिलो पूर्ण संस्थागत प्रसुती घोषणा कार्यक्रमको प्रमुख अतिथि पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेश सांसद विष्णु पन्थी रहने नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले मायादेवी अनलाइनलाई बताउनुभयो ।

बाणगंगा नगरपालिका जिल्लाकै पहिलो पूर्ण संस्थागत प्रसुती पालिका घोषणा हुन लागेको हो । घरमा प्रसुती गराउने संख्या शुन्य भएको मापदण्डका आधारमा पालिकालाई घोषणा गर्न थालिएको हो ।

त्यस्तैगरी वडा अध्यक्ष स्तरको निर्णयलाई अनुमोदन गर्दै पाँचौ मेयर कप चैत्र ७ गते बुधबारदेखि बुद्धरंगशालामा शुभारम्भ गर्ने निर्णय गरेको छ । नगरपालिकाको दोश्रो चौमासिक समिक्षा वैठक चैत्र २० गते भित्र र विगतमा कार्यपालिकाले गरेको निर्णय अनुसार एकिकृत घुम्ती शिविर सेवा वडा न. ९ भलवाडमा चैत्र २५ गते भित्र संचालन गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो । त्यस्तैगरी बाणगंगा नगरपालिकाले आयोजना गर्ने दोश्रो सार्वजनिक सुनुवाई कार्यक्रम चैत्र ३० गते भित्र वडा न.२ पिपरामा संचालन गर्ने बताइएको छ ।

बैठकले प्रदेश समपुरक योजना छनौट गर्ने निर्णय समेत गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१।०८२ को योजना निर्माणको प्रकृया अघि बढाएको नगर उपप्रमुख रिताकुमारी थारुले बताउनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०८० मंगलबार ००:००  १० : ३० बजे