१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

तिलौराकोट साझेदारीमा अनियमितताका चाङ, दुई सय बढि रुख नै हराए



कपिलवस्तु ।
तिलौराकोट साझेदारी बनका २ सय बढि ढलापडा रुख हराएको छ । असोज २० गते आएको हावाहुरीले ढलाएका रुखहरु मध्ये २ सय ६ वटा रुख भेटिएको छैन ।

साझेदारी वनको दक्षिणी भागको ५ वटा ब्लकमा गरी कुल २ हजार ४२ वटा रुख हावाहुरीले ढालेको थियो । तर केही दिन अघि मात्रै ढलापडा छपान गर्ने क्रममा १८३४ वटा रुख मात्र भेटिएको छ ।

बाँकी २ सय ६ वटा रुख कहाँ गयो र कसले लग्यो भन्ने कुनै जानकारी नभएको साझेदारी वनका एक सदस्यले बताए । उत्तरी क्षेत्रको ढलापडाको छपान अझै नभएको र तत्कालिन अवस्थाका वन कर्मचारीहरुले तथ्यांक समेत संकलन नगरेको बताइएको छ । “उत्तरी क्षेत्रको १० वटै कम्पार्टमेन्टमा असोज २० गतेको हावाहुरीले कति क्षति पुर्यायो यकिन तथ्यांक नै छैन, चरम लापरवाही भयो” उनले भने ।

कुनै समय वन व्यवस्थापनमा देशकै नमूना बनेको तिलौराकोट साझेदारी वनले व्यवस्थापनमा चरम लापरवाही गर्दै आएको छ । समूहमा रहेको २ करोड बढि रकमलाई विभिन्न बहानामा खर्च गर्ने, मनपरि बजेट बाडँफाड गर्ने, विभिन्न बहाना देखाई तोकिए भन्दा बढि वैठक र अनुगमन भत्ता लिने होडबाजीले बनको संरक्षण र विकास तर्फ ध्यान गएको पाइदैन । कार्ययोजना तथा १२ औ बार्षिक साधारण सभाबाट पारित कार्यक्रम अनुसार समेत साझेदारी अघि बढ्न सकेको छैन । कार्ययोजना अनुसार समयमै कार्य सुरु भएको छैन । जसकारण संकलन गरिसक्नुपर्ने काठ दाउरा ७ महिना सम्म जंगलमै छाडिदा करिब ८० लाख बढि आम्दानी हराएको छ ।

वन क्षेत्रमै ढलेका रुख हराएपछि अहिले साझेदारी बन समूह र डिभिजन वन कार्यालय कपिलवस्तु त्यसलाई लुकाउने खेलमा लागेको बताइन्छ । तत्कालिन सहायक वन अधिकृत प्रेमी लाल सिंहले संकलन गरी तयार पारेको ढलापडा रुखको नापजाँच सहितको विवरण नै गायब बनाएर छपान गरिएको रुख मात्र ढलेको बनाउन समूहका अध्यक्ष जयप्रकाश पाण्डे लागेको बताइन्छ ।

समूहकै पदाधिकारी श्रोतका अनुसार केही ढलेका रुख तस्करहरुले कटान गरी लगेको, केहीले दाउरा चिरेर लगेको र केही मिलेमतोमै बेचेको आशंका गरिएको छ । समयमै कार्ययोजना अनुसार काम नगर्नू, ढलापडा संकलन तथा थिनिङ, पुनरुत्पादन कटान गरिसक्ने समयमा कुनै काम अघि नबढ्दा बन व्यवस्थापनको चक्रिय प्रणाली समेत प्रभावित हुने वनविज्ञहरु बताउँछन् ।

साझेदारी वनबाट हराएको रुखको जाँच गर्ने कारवाही गर्ने निकाय डिभिजन वन कार्यालय आफै अध्यक्ष पाण्डेको गोजीमा भएकै कारण कुनै कारवाही तथा छानबिन नहुने डिभिजन वन कार्यालयकै कर्मचारीहरुको दाबी छ ।

“दाजु भाई मिलेका छन् ढलेको मात्र होइन यहाँ जंगलै बेचे पनि केही हुँदैन,” एक कर्मचारीले भने । ढलापडा भएका रुखहरु हराएपनि यसबारे समूहका अध्यक्ष पाण्डेले समूहको बैठक तथा डिभिजन वन कार्यालयमा कुनै लिखित जानकारी समेत गराएका छैनन् । उल्टै हतार हतार सूचना निकालेर ढलापडा संकलन गरी मुद्धा दबाउन लागेका छन् । उनले केही दिन अघि मात्रै ढलापडा संकलनका लागि सूचना निकालेका छन् । तर बाँकी रुख कता गए भन्ने बारे उनले अनभिज्ञता प्रकट गर्दछन् । “वनमा जति ढलापडा हो त्यति छपान गरिएको छ, यस अघि कुनै डाटा लिइएको छैन, हराएको बारे थाहा भएन उनले भने ।

वन व्यवस्थापनमा चरम लापरवाही गर्दै आएको तिलौराकोट साझेदारी वनले आगलागीका क्रममा हुन सक्ने डढेलो नियन्त्रणमा समेत वेवास्ता गर्दै आएको छ । आगलागी फैलन रोक्ने फायरलाइन सफा गर्न रकम निकासा गरिएको छ तर सफा गरिएको छैन ।

फागुन महिनाबाटै परिचालन गर्नुपर्ने अग्नी नियन्त्रण दस्ता समेत परिचालन गरिएको छैन । जसका कारण जंगलमा ढलेका रुखहरु जल्ने, नष्ट हुने र गुणस्तर समेत बिग्रने जोखिम बढेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८० शनिबार ००:००  १ : ०८ बजे