१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

शिवराजका मेयरले भनेः जनप्रतिनिधि भएर पैसा कमाउने सोच राख्नुभएको छ भने राजीनामा दिनुस्



मायादेवी अनलाइन, बाणगंगा ।

कपिलवस्तु शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले जनप्रतिनिधि भएर पैसा कमाउने सोच कसैले राखेको भए राजीनामा दिन सुझाव दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले चन्द्रौटामा राखेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले पालिका भित्रका कुनैपनि जनप्रतिनिधि, कर्मचारी भ्रष्ट्रचारजन्य गतिविधिमा संलग्न भएको वा हुन थालेको सूचना भए तुरुन्त जानकारी गराउन आह्वान गरे ।

अन्तरक्रियामा नगरका जनप्रतिनिधि र कर्मचारीको सहभागीता रहेको थियो ।

जनप्रतिनिधि जनताको सेवक भएको भन्दै पैसा कमाउने उद्देश्य राख्न नहुने उनले तर्क गरे । ‘पैसा बढि कमाउने लोभ जनप्रतिनिधिमा हुनु हुँदैन्’, उनले भने ।

नगर भित्र कसैले भ्रष्ट्रचार गरेको थाहा पाए फाइल बोकेर आफै अख्तियार पुग्ने उनले प्रतिवद्धता जनाए ।

पछिल्लो समय स्थानीय पालिकामा भ्रष्ट्रचारका मुद्धा बढिरहेका छन् । यसै सन्दर्भ पारेर अख्तियार अनुसन्धान आयोग बुटवलले शिवराज नगरपालिकाको चन्द्रौटामा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

शिवराज नगरपालिकाका मेयर थापा युवा हुन् । उनी मेयरमा निर्वाचित भए लगत्तै सुशासनलाई प्राथमिकतामा राख्दै आएका छन् ।

नदीजन्य पदार्थको चोरीनिकासी नियन्त्रणदेखि नदीजन्य पदार्थको ठेक्का लगाउने सन्दर्भमा पनि मेयर थापा उत्तिकै चनाखो देखिन्छन् । नगर भित्रका अन्य विकासका कामहरुमा पनि मेयर थापाले सुशासनलाई बढि प्राथमिकतामा दिँदै आएको कर्मचारीहरु बताउँछन् ।

प्रकाशित मिति : १० चैत्र २०८० शनिबार ००:००  १ : ४० बजे