२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

तिलौराकोट साझेदारी वनको स–मिल बन्द, नीजि पोस्ने खेलमा समूह



कपिलवस्तु ।
विगत एक बर्ष देखि विवाद र अनियमितताको घेरामा रहदै आएको यहाँको तिलौराकोट साझेदारी वन व्यवस्थापन समूहले उपभोक्तालाई काठ दाउरा वितरण रोकेको छ ।

समूह भित्रको निहित स्वार्थका कारण वैशाख देखि हालसम्म उपभोक्ता काठ दाउराबाट बञ्चित भएका हुन् । ५ वटा पालिकाको २९ हजार ५ सय घरधुरी उपभोक्ता रहेको यस साझेदारीको प्रमुख उद्धेश्य नै सहज रुपमा काठदाउरा उप्लब्ध गराउने छ । सोहि उद्धेश्य अनुरुप २०७६ सालमा साझेदारी वनले सरकारको सहयोगमा स–मिल तथा फर्निचर उद्योग संचालन गरेको थियो ।

सहज सेवा तथा आम्दानी दिदैँ आएको तौलिहवा स्थित स–मिल एकाएक बन्द गरियो । समूहका पदाधिकारीहरु बीच स–मिल संचालक को हुने भन्ने विवाद बढेपछि मिल संचालन हुन नसकेको समूहका सदस्यहरु बताउँछन् । साझेदारी वन उपभोक्ताहरुले एकबर्ष देखि सहुलियतमा काठ दाउरा पाउन सकेका छैनन् । समूहका उपाध्यक्ष तथा कपिलवस्तु नगरपालिका १ का वडा अध्यक्ष मो. जाहिद खाँले समूहका अध्यक्ष जयप्रकाश पाण्डेको निजी स्वार्थका कारण स–मिल बन्द गरेर राखेको आरोप लगाए ।

“१ बर्ष देखि काठ दाउरा छैन, उपभोक्ताले चोकमा गाली गर्छन, जवाफ छैन, समूहमा उहाँकै मनोमानी चल्छ” उनले भने । “हामीले वडाबाट दाहसंस्कारको दाउरा साझेदारीको स–मिलबाट खरिद गर्दा प्रति क्वीन्टल ५ सय पर्दथ्यो, अहिले निजीमा किन्दा १२ सय प्रति क्वीन्टलमा किन्न बाध्य छौ” वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश गैरेले भन्नुभयो । समयमै साझेदारीले सहज दाउरा दिएको भए लाखौ सरकारी रकम जोगिने र समूहलाई पनि फाइदा पुग्ने थियो ।

उपभोक्ताको हितका लागि चलाएको वन समूहले अहिले आफ्नै उपभोक्ताको मृत्यु हुँदा शव जलाउनका लागि समेत दाउरा दिन सकेको छैन । आव ०७९/८० मा संकलन भएको काठ दाउरा मध्ये गोरुसिंगे घाटगद्धीमा २५ हजार क्यूफिट साल र ६० चट्टा दाउरा १ बर्ष देखि थन्किएको छ भने चेत्रादेई घाटगद्धीमा १० हजार क्यूफिट साल, १ हजार क्यूफिट टिक, सिसौ तथा अन्य काठ र ३६ चट्टा दाउरा थन्किएका छन् । ती सबै काठ दाउरा उपभोक्ताहरुलाई चालु आव भित्रै वितरण गर्नुपर्ने छ । तर उपभोक्तालाई चर्कोमा काठ दाउरा किन्न बाध्य पारेर साझेदारी बनले घाटगद्धीमै काठ राखेर त्यसको गुणस्तर विर्गादै बसेको छ ।

समूहका सदस्य मोहन पाण्डेले विगतका बर्षमा सहुलियतमा काठ दाउरा दिएर पनि स–मिलले २ करोड ३४ हजार बढि आम्दानी गरेको बताए । अहिले मिल बन्द हुँदा आम्दानी मात्र होइन सेवा समेत बन्द छ, जतातजै गुनासो मात्रै छ, स–मिल संचालक समिति गठन गर्न माग गर्दा सुनुवाई गर्दैनन, स–मिल पनि चलाउँदैनन्” उनले भने ।

तिलौराकोट साझेदारी वनको १२ औ बार्षिक साधारण सभामा अध्यक्ष जयप्रकाश पाण्डे आफै स–मिल संयोजक हुने योजना साथ प्रस्ताव पेश गरेका थिए । तर बहुमत सदस्यले अस्विकार गरेर समूह भित्रैबाट अर्को संचालक टिम बनाउने प्रस्ताव पारित गरिदिए । त्यसपछि चिढिएका पाण्डे मिल बन्द गरेर समूहका सदस्यहरुलाई ठेगान लाइदिने भन्दै १ बर्ष देखि प्रक्रिया नै रोकेर राखेको श्रोतको दाबी छ ।

त्यसो त उनीमाथी अर्को आरोप पनि समूहकै सदस्यहरुको छ । उनले कपिलवस्तु नगरपालिका वडा नं. ४ स्थित विन्दवासिनी काष्ठ उद्योग र मायादेवी १ को स्टार स–मिल संग मिलेर साझेदारीको स–मिल बन्द गराएको आरोप छ ।

उपभोक्ता समूह क्षेत्रका २८ वटा वडाले प्रति क्वीन्टल ५ रुपैयामा साझेदारी संग खरिद गर्ने दाउरा निजी स–मिलबाट १२ रुपैयाँ तिरेर किन्ने गरेका छन् । जसबाट लाखौ सरकारी रकम चुहावट भइरहेको छ । समूहमा ३ हजार रुपैयाँ क्यूफिट पाइने चिरान साल निजी स–मिलमा ४ हजार देखि ५ हजारसम्म तिरेर समूहका उपभोक्ताहरुले गर्जो टार्दै आएका छन् । साझेदारीको मुख्य उद्धेश्य नै सबै उपभोक्तालाई सहज काठदाउरा वितरण गर्नु हो तर यहाँ सेवा भन्दा समूहमा काठ दाउरा बेचेर राखेको ५ करोड रकममा समूहका पदाधिकारीहरुको गिद्धे दृष्टि परेको छ । जसकारण सेवामुखी भन्दा कमिशनमुखी काम दु्रत गतिमा बढेको पाइन्छ ।

समूहको आर्थिक व्यवस्थापन समेत कमजोर बनाइएको छ । स–मिलबाट नाफा भएको २ करोड ३४ हजार रकम तौलिहवा स्थित ग्लोबल आइएमई बैंकमा चल्ती खातामा राखिएको छ । ११ औ बार्षिक साधारण सभा तथा १२ औ साधारण सभमा समेत समूहका अधिकांश सदस्यले उक्त रकम बचत वा मुद्धतीमा राखेर व्याज लिनुपर्ने माग र निर्णय गरेपनि अध्यक्ष पाण्डेले उक्त रकम चल्तीबाट निकालेका छैनन् । जसकारण बार्षिक ७ प्रतिशतकै दरले पनि १४ लाख बार्षिक ब्याज घाटा गइरहेको समूहकै सदस्यहरु बताउँछन ।

यस बारे साझेदारी वनका अध्यक्ष जयप्रकाश पाण्डेले काठदाउराको अभाव भएको कारण स–मिल बन्द गर्नुपरेको बताए । वनको समाचार प्रकाशन भएको प्रति आक्रोश व्यक्त गरेका उनले जे मन लाग्यो त्यही समाचार लेख्न चेतावनी दिए ।

साझेदारी वनमा बढ्दो आर्थिक अनियमितता तथा मनपरी नियन्त्रण गर्न भने कसैको चासो देखिदैन् ।

प्रकाशित मिति : १७ चैत्र २०८० शनिबार ००:००  ७ : ०१ बजे