२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

तिलाैराकाेट गाेल्डकप ‘कपिलवस्तु ११ लाई हराउँदै थ्री स्टार सेमिफाइनलमा’



कपिलवस्तु।

थ्रीस्टार क्लब प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप–२०८० को सेमिफाइनमा प्रवेश गरेको छ । कपिलवस्तु बाणगंगाकाे बुद्ध रंगशालामा शनिबार उद्घाटन खेलमा आयोजक कपिलवस्तु–११ लाई ३–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टार सेमिफाइनल प्रवेश गरेकाे हाे ।

थ्रीस्टारका लागि जर्सी नम्बर ९ का निरज चौधरीले २ गोल गरे। यस्तै, दिपेश घलेले १ गोल गरे । खेलको ३२ औँ मिनेटमै थ्रीस्टारले निरजको गोलमार्फत् अग्रता बनाएको थियो। त्यसको तीन मिनेटपछि जर्सी नम्बर ७ का दिपेशले गोल गर्दै थ्रीस्टारको अग्रता दोब्बर बनाएका थिए ।

पहिलो हाफ २–० गोल अन्तरले अगाडि रहेको थ्रीस्टारले दोस्रो हाफमा थप १ गोल गर्न सफल भयाे। थ्रीस्टारका निरजले नै ६२ औँ मिनेटमा व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे। दुई गाेल गरेका निरज नै खेलको म्यान अफ दी म्याच घोषित भए। उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। उक्त पुरस्कार गायछाप ब्रान्डले सौजन्य गरेको हो ।

थ्रीस्टारले फाइनल प्रवेशका लागि विभागीय टोली नेपाल पुलिस क्लब र साहारा क्लब पोखराबीचको विजेतासँग खेल्ने छ। यी दुई टिमले सोमबार खेल्ने छन्।

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ र उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयाेजक कपिलवस्तु जिल्ला फुटबल संघले जनाएकाे छ ।

प्रकाशित मिति : १७ चैत्र २०८० शनिबार ००:००  ८ : ५२ बजे