२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

तिलाैराकाेट गाेल्डकप ‘ए डिभिजनको मछिन्द्र क्वार्टरफाइनलमै बाहिरियो’



कपिलवस्तु। ‘ए’ डिभिजन क्लब मछिन्द्र प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरिएको छ।

कपिलवस्तुको बुद्ध रंगशालामा आइतबार सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा ट्राईबेकरमा हनामी बीएफसीसँग ५–४ गोल अन्तरले पराजित हुँदै मछिन्द्र प्रतियोगिताबाट बाहिरिएको हो।

खेलकाे निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको छिनोफानो सडन डेथबाट भएको हाे ।

हनामीका लागि अभिषेक महतो, नेपोल्डन, सुजित बुढाथोकी, आशिष सुमन, भविन्द्र मल्लले गोल गरे। राम शाही, अनिल खड्का र अमृत श्रेष्ठले भने गोल गर्न सकेनन्। मछिन्द्र एफसीका लागि विशाल तामाङ, चन्द दास, छिरिङ लामा र आशिष श्रेष्ठले गोल गरे।

विमल घर्तीमगर, विजय भुजेल, पासाङ लामा र अजय चौधरीले भने गोल गर्न सकेनन्। आजको खेलसँगै हनामी सेमिफाइनलमा पुगेको छ। खेलको म्यान अफ द म्याच भविन्द्र मल्ल भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे। म्यान अफ द म्याचको पुरस्कार गाय छाप ब्राण्ड पकडीले सौजन्य गरेको छ ।

खेलमा सोमबार नेपाल पुलिस क्लब र सहारा फुटबल एकेडेमी पोखरा भिड्ने छन् । चैत २४ गतेसम्म चल्ने प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लबसँगै सहारा फुटबल एकेडेमी, हनामी बीएफसी, थ्रीस्टार क्लब र सुदूरपश्चिम–११ पनि सहभागी छन् भने आयोजक कपिलवस्तु –११ शनिबार थ्रीस्टारसँग ३–० गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ।

प्रतियोगिताको विजेता टोलीले ११ लाख ११ हजार १११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ ५५ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कपिलवस्तु फुटबल संघले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८० आइतबार ००:००  ९ : ३० बजे