१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

आफ्नै कीर्तिमान तोड्ने मयंक



काठमाडौँ।
लखनउ सुपर जायन्ट्सका नयाँ तीव्र गतिका बल मयंक यादवले इन्डिन्यन प्रिमियर लिग (आईपीएल) मा लगातार रेकर्ड बनाइरहेका छन्।

एन चिन्नास्वामी स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा मयंकले घरेलु टोली रोयल च्यालेन्जर्स बेंगलुरूविरुद्ध ४ ओभर बलिङ गर्दै १४ रन खर्चिएर ३ विकेट लिए। उनकै उत्कृष्ट प्रदर्शनले लखनउले बेंगलुरूलाई २८ रनले पराजित गर्न सफल भयो।

मंयकले बेंगलुरूविरुद्धको खेलमा यस सिजन सबैभन्दा तीव्र गतिमा बलिङ गरेका थिए। उनको बलिङ गति १५६.७ किलोमिटर प्रतिघन्टाको थियो।

योसँगै उनले १७औँ सिजनको आईपीएलमा आफ्नै कीर्तिमान तोडेका छन्। पञ्जाबविरुद्ध डेब्यू गर्दै उनले १५५.८ किलोमिटर प्रतिघन्टाको गतिमा बलिङ गरेका थिए।

मयंक आईपीएल इतिहासमा तीन पटक १५५ किलोमिटर प्रतिघन्टाभन्दा माथिको गतिमा बलिङ गर्ने विश्वकै पहिलो बलर बनेका छन्। बेंगलुरूविरुद्धको आफ्नो स्पेलमा उनले १५० किलोमिटर प्रतिघन्टा बढीको गतिमा ८ बल बलिङ गरेका थिए।

योभन्दा अगाडि उमरान मलिक (२०२२ मा) र एनरिक नोर्त्जे (२०२० र २०२० मा) ले दुई पटक १५५ किलोमिटर प्रतिघन्टाको गतिमा बल फ्याँकेका थिए।

आईपीएलमा सबैभन्दा तीव्र गतिमा बलिङ गर्ने कीर्तिमान अस्ट्रेलियाका शोन टेटको नाममा छ। उनले सन् २०११ को आईपीएलमा राजस्थान रोयल्सविरुद्ध १५७.७ किलोमिटर प्रतिघन्टाको गतिमा बलिङ गरेका थिए।

यस्तै, न्यूजिल्यान्डका लोकी फर्गुसनले सन् २०२२ को आईपीएलमा गुजरात टाइटन्सविरुद्ध १५७.३ र भारतका उमरान मलिकले सोही सिजन १५७ किलोमिटर प्रतिघन्टाको गतिमा बलिङ गरेका थिए।

यस्तै, दक्षिण अफ्रिकामा एनरिच नोर्टजेले सन् २०२० को सिजनमा १५६.२ किलोमिटर प्रतिघन्टाको गतिमा बलिङ गरेका थिए।

प्रकाशित मिति : २१ चैत्र २०८० बुधबार ००:००  ११ : २८ बजे