१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

सहकारीका समस्या समाधान नीतिगत रुपमा हुन्छ : उपाध्यक्ष घिमिरे



कपिलवस्तु । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्न नीतिगत रुपमा पहल भैरहेको बताउनुभएको छ । उहाँले एकै प्रकृतिका सहकारीहरुलाई मापदण्ड बनाएर नितीगत रुपमा मर्ज गर्ने काम भैरहेको बताउनुभयो ।

पछिल्लो समय सहकारीमा आवद्ध सदस्यहरुको रकम दुरुपयोग र ठगी प्रकरणका घटना बाहिर आइरहको सन्दर्भमा यसको नियमनका लागि सरकारले कानुन निर्माण र कार्यन्वयनमा ठोस काम गर्न थालेको बताउनुभयो ।

बाणगंगा नगरपालिकाकै सवैभन्दा जेठो सहकारी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिकोत्सव तथा रजत समारोहको उद्घाटन गर्दै प्रमुख अतिथी विमला घिमिरले सो कुरा बताउनु भएको हो ।

विपन्न बर्गलाई आर्थिक रुपमा अगाडी बढाउन, कृषकहरुको उत्पादन बृद्धि गर्नका साथै महिलाहरुलाई शसक्त बनाउने उद्धेश्यले स्थापित सिद्धार्थ सहकारी प्रति शेयर सदस्यहरुलाई निर्धकका साथ आर्थिक क्रियाकलाप गर्न अनुरोध गर्नुभयो । कृषि उत्पादनलाई जोड दिदै सदस्यहरुलाई आत्मनिर्भर बनाउन सक्ने भएकाले यसतर्फ पनि सहकारीले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथी सहकारी संघ लुम्बिनी प्रदेशका लेखा संयोजक तेजप्रसाद आचार्यले विपन्न र आर्थिक स्तर कमजोर भएका नागरिकहरुको बैंक नै सहकारी भएको दावी गर्नुभयो । सहकारीले बचतको माध्यमबाट आर्थिक सामाजिक क्षेत्रलाई अगाडी बढाउने काम गरिरहेको बताउनुभयो । राज्य सहकारी मैत्री नभएको औल्याउदै सहकारी निती बनेको तर कार्यन्वयन पक्ष भने फितलो रहेका कारण अहिले सहकारी प्रति नकरात्मक धारणा बढेको स्पष्ट पार्नुभयो ।

यता कपिलबस्तु बचत तथा ऋण सहकारी सघंका अध्यक्ष ध्रुब बेल्बासेले सहकारी क्षेत्रले छारिएको पुंजीलाई एकिकृत गर्न सक्ने हो भने ठुला-ठुुला परियोजना पनि संचालन गर्न सकिने बताउनुभयो । महिला दिदी बहिनीहरुको थोरै थोरै पूँजीलाई संकलन गरि उत्पादनमुलक कार्यमा सहकारीहरुले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष पोमनारायण पौडेलले सिद्धार्थ सहकारी जिल्लाकै अग्रणी सहकारीको रुपमा विकास भएको जिकिर गर्दै अब सहकारीले ऋण लागानी असुली मात्रै नभएर उत्पादनको अभियानमा जोड दिनु आवश्यक भएको औल्याउनुभयो । साथै उहाले पछिल्लो समय दैनिक रुपमा हजारौ युवा विदेशिने क्रम बढीरहेको बताउदै त्यो क्रमलाई रोक्न स्थानीय उत्पादनलाई बृद्धि गरि आर्थिक क्रियाकलाप जोड्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष डम्मर शर्मा, संस्थाका पुर्व अध्यक्ष टिकाराम पौडेल, दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर शाही, शेयर सदस्य सावित्रा कंडेल लगाएतले बोल्दै सहकारीको ऋणलाई सहि सदुपयोग गरे मात्र आर्थिक समृद्धी हासिंल हुने बताउनुभयो ।

लेखा समिती संयोजक देवकला सुवेदी कलामले शेयर सदस्यलाई ऋण लिएर व्यवसायमा लगानी गरी व्यवसायीक बन्न आग्रह गर्नुभयो ।

सम्पुर्ण वित्तिय समाधानको पहिलो रोजाई सिद्धार्थ सहकारी भन्ने नाराका साथ सम्पन्न २५ औं बार्षिक उत्सव एवं रजत महोत्सवको अवसरमा संस्थापक सदस्य, असल बचत कर्ता, असल ऋणी तथा उत्कृष्ट ३ वटा समुहलाई नगद सहित सम्मान प्रदान गरिएको थियो । त्यस्तै १० जना जेष्ठ शेयर सदस्य र उत्कृष्ट कर्मचारी तर्फ व्यवस्थापक हरिलाल शर्मा र सहायक ज्ञानु शाहलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रम सहकारीकी अध्यक्ष इन्दिरा भट्टराईको अध्यक्षता, उपाध्यक्ष प्रकाश घिमिरेको स्वागत तथा व्यस्थापक हरिलाल शर्माको संचालनमा सम्पन्न भएको हो । यसैबीच सहकारीले प्रकाशन गरेको रजत स्मारीकाको विमोचन समेत गरिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८१ शनिबार ००:००  ७ : ०० बजे