१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

हात्तिपाइले रोग विरुद्धको १६ औं अभियान शुरु हुँदै



बाबुराम रायमाझी, वाणगंगा ।
कपिलवस्तुमा १५ औं पटकसम्म हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउँदा पनि अभियान सफल नभएपछि अन्तिमपटक भन्दै पुनः यो अभियान शुरु हुने भएको छ । आउदो बैशाख १६ बाट हात्तिपाइले रोग बिरुद्धको औषधी खुवाउने अभियान अन्र्तगत १६ औं पटकको यो अभियान संचालन गरिने भएको हो ।

नेपाल सरकारले नै कपिलवस्तु सहित ७ वटा जिल्लामा हात्तिपाइले बिरुद्धको औषधी खुवाउने कार्यक्रम संचालन गर्ने तयारी गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाले हात्तिपाइले रोग निवारणका लागि जोखिम समूहमा रहेका कपिलवस्तु सहित सात जिल्लामा औषधी खुवाउने कार्यक्रम सञ्चालन हुन लागेको जनाएको छ । कपिलवस्तु, रसुवा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र झापा जिल्लामा हात्तिपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम चल्नेछ ।

सोही अभियान अन्तरगत कपिलवस्तुको वाणगंगा नगरपािलकाले हात्तिपाइले रोग निवारण अभियान (एमडिए) को नगरस्तरीय अभिमुखिकरण कार्यक्रम गरेको हो । नगर भित्रका जनप्रतिनिधी, प्रद्यानाध्यापक, स्वास्थ्यकर्मी, कर्मचारी र पत्रकारहरुको सहभागितामा भएको अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख तथा कार्यक्रमका अध्यक्ष चक्रपाणी अर्यालले यो पटकको अभियान हात्तिपाइले रोगको औषधी वितरण कार्यक्रम नै अन्तिम हुनेगरी अगाडि बढ्ने बताएका थिए । समाजका बुद्धिजीवि र पहुँच पुगेको व्यक्तिले औषधी सेवन नगरेको तथ्यांङले देखाएकोले यसपटक यो अभियानलाई सफल बनाउन सबैसँग आग्रह गरे । साथै उनले नगरमा यसवर्ष परिक्षण गर्दा हात्तिपाईले रोग कसैमा नभेटिएको बताउदै शुन्य रहेको बताए ।

नगर उपप्रमुख रिता कुमारी थारुले समाजमा बुद्धिजीवी मान्छेबाट नै अलिकति नराम्रा हल्ला गर्दा कतै कतै अप्ठयारो परिस्थिती सृजना भएको बताइन् । सामाज रुपान्तरण गर्न समाजका हरेक व्यक्ति स्वस्थ हुन आवश्यक रहेको बताउदै सबैलाई औषधी खान पनि आग्रह गरिन् । १६औ पटकको अभियान सफल पार्न सबैले आआफ्नो ठाउँबाट पहल गर्न समेत आग्रह गरेकी छन् ।

नगरका प्रमख प्रशासकिय अधिकृत भक्तिराम मरासिनिले किन खाने भन्दा पनि सबैले खानै पर्ने गरि लाग्न सबैले सुचना प्रवाह गर्नुपर्ने र व्यवहारमा कार्यन्वयन गर्न आग्रह गरे । उनले यो अभियानमा पत्रकारलाई धेरै भन्दा धेरै सुचना प्रवाह गर्न समेत आग्रह गरे । साथै प्रमुख प्रसासकिय अधिकृत मरासिनीले औषधी वितरण गर्दा घरमा पोको पारेर होइन प्रत्येक व्यक्तिका मुखमा औषधी पुग्नेगरि लाग्न सबैलाई आग्रह गरे । साथै उनले फरक प्रसंगमा बोल्दै बजेट निर्माण गर्दा पनि प्रत्येक नागरिकको घरदैलोमा जानू पर्ने बताए । जिल्लाका सबैपालिकामा सबैपक्षको सहकार्यमा अभियानले अन्तिम नतिजामुखी रहने गरि अभियान संचालन गरिने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख नारायण प्रसाद चौधरीले बताए ।

राज्यले गरेको राम्रा कार्यमा हामी सबै जिम्मेवार हुन आवश्यक रहको उनले बताए । साथै उनले अहिलेसम्म कुनै पनि अध्ययनले हात्तिपाईलेको औषधी खादा मृत्युको अवस्था सृजना नभएको हुदा ढुक्क भएर औषधी खानुपर्नेमा जोड दिए । नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले कार्यक्रमको उद्देश्यबारे बताएका थिए ।

जिल्ला परियोजना संयोजक निशान कुंवरले हात्तिपाइले रोगको बारे र रोगलाई निवारण कसरी गर्न सकिन्छ भन्ने जानकारी दिएका थिए । अभियान बैशाख १६ मा १६औं पटक र अन्तिम पटक हुनेगरि सवै जिम्मेवार हुनुपर्ने बताए । यता वडाको तर्फबाट वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरि र विद्यालयको प्र.अ.को तर्फबाट जनता मावि पिपराका प्र.अ. रमेश पन्थी र पत्रकारबाट बाबुराम रायमाझीले बोल्दै आ-आफनो जिम्मेवारी अनुसार लाग्ने प्रतिबद्धता जनाएका थिए । स्वास्थ्य शाखाका अधिकृत भक्तिराम पाण्डेको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

वैशाख १६ मा ७ वटा जिल्लाका ५० लाख ७८ हजार जनालाई औषधी खुवाउने लक्ष्य लिइएको छ । यसका लागि ६ हजार स्वास्थ्यकर्मी र ५ हजार ८ सय स्वास्थ्य स्वयंसेविका परिचालन हुने भएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८१ सोमबार ००:००  ७ : ३५ बजे