१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

खुला ठाउँमा दिसा गर्ने १६ जना प्रहरी नियन्त्रणमा



कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा खुला दिसा गर्ने १६ जनालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ । गाउँपालिका र प्रहरीसहितको टोलीले मङ्गलवार बिहान ५ बजेदेखि बस्ती, सडक तथा खेतबारीमा खुला दिसा गर्नेको पहिचान गर्न छड्के अनुगमन गरेको थियो । पालिकाका वास संयोजक अर्जुन बेल्वासेको नेतृत्वमा रहेको टोलीले पाँच वडामा अनुगमन गरेको थियो ।

ईलाका प्रहरी कार्यालय गणेशपुरको प्रहरी सहितको अनुगमन टोली देखेपछि खुला दिसा गर्ने समूहको भागाभाग भएको थियो । प्रहरी नियन्त्रणमा पर्नेमा वडा नम्बर १,२,५,६ र ७ का रहेका वास संयोजक बेल्बासेले बताउनुभयो । नियन्त्रणमा पर्नेमा ३ जना भारतीय नागरिक छन् । उनीहरू पाहुना बन्न विजयनगर आएका थिए । नियन्त्रणमा लिएकालाई शौचालय निर्माण र प्रयोग गर्ने कागज गराईं वडाध्यक्षको जिम्मा लगाउने बताइएको छ ।  

पालिकाले वैशाखदेखि पूर्ण सरसफाइ कार्यान्वयन गरी खुला दिसा मुक्त बनाउन अभियानको रूपमा अगाडी बढेको थियो । तीन महिनासम्म बिभिन्न चरणमा समुदायमा सचेतना अभियान, तालिम, छलफल संगै शौचालय निर्माणको अभियान सञ्चालन गर्दै वैशाखदेखि अटेरी गर्नेलाई कारबाही गर्ने योजना अगाडि सारेको थियो । 

हप्तामा एक दिन छड्के अनुगमन गरी शौचालय प्रयोग नगर्नेलाई कारबाहीको दायरामा ल्याउने पालिकाले जनाएको छ । पालिकाले सरसफाइ कार्यविधि निर्माण गरी खुला दिसा गर्नेलाई १ हजारदेखि ५ हजार रकम जरिवाना तोकिएको छ । पालिकाले ७ वटा सूचक पुरागर्ने परिवारलाई सरसफाई सभ्य परिचय पत्र समेत वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१ बुधबार ००:००  ११ : ०५ बजे