१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

कपिलवस्तु नगरपालिकाकी उपमेयर गुप्ताले किन बवण्डर मच्चाइरहेकी छिन् ?



कपिलवस्तु ।
अनपेक्षित चुनावी नतीजा आफ्नो पोल्टामा पारेर कपिलवस्तु नगरपालिकाकी उप-प्रमुख बनेकी सुनिता गुप्ता साहुले बवण्डर मच्चाउँदै आएकी छिन् ।

पालिका भित्र उप-प्रमुख गुप्ताले जनप्रतिनिधि र कर्मचारीमाथि अभद्र व्यवहार देखाउँदै आएकी हुन् ।

कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पौडेल र उप-प्रमुख गुप्ता दुवै जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट निर्वाचित जनप्रतिनिधि हुन् ।

जसपाबाट निर्वाचित भएपनि प्रमुख पौडेल र उप-प्रमुख गुप्ताको सम्बन्ध खासै राम्रो छैन् ।

उप-प्रमुख गुप्ताले हालै १५ औँ नगरसभामा नगर प्रमुख तथा नगर सभाका सदस्यहरूविरुद्ध अभद्र व्यवहार देखाएकी छिन् ।

उनीविरुद्ध गाली बेइज्जती तथा दुर्व्यवहार सम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा परेको छ ।

मंगलबार नगरसभामा उपमेयरले गाली बेइज्जती गरेको विषयमा उजुरी आएपछि दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख नवरत्न पौडेलले बताए । उनले उक्त घटनाको विषयमा अहिले अनुसन्धान भइरहेको बताए ।

नगरपालिकाका ८ जना वडा अध्यक्ष तथा ६ जना कार्यपालिका सदस्यले उपप्रमुख साहुविरुद्ध जाहेरी दर्ता गराएको पौडेलले जानकारी दिए ।

मंगलबार नगरपालिकाको कुल बजेट बाँडफाँटको ५० प्रतिशत आफूले तोके अनुसार विनियोजन नभएको, सेवा सुविधा मेयर बराबर नभएको, नगरका योजनाहरू आफू निकटलाई कोटेसनमा नदिएको भन्दै तीव्र असन्तुष्ट रहेकी उपमेयर साहुले १५ औ नगरसभा बिथोल्ने प्रयास समेत गरेकी थिइन् ।

उनले नगरसभामा प्रस्तुत गर्नुपर्ने विधेयक, ऐन लगायतका विषयवस्तु प्रस्तुत नगरी मेयर, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख तथा कर्मचारीहरू लक्षित भ्रष्ट्राचार आरोप लगाउँदै दुर्व्यवहार प्रयास गरेको एक वडा अध्यक्षले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०८१ बिहिबार ००:००  ५ : ३८ बजे