२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

शिवराजले नीजि विद्यालयलाई भन्योः भर्ना शुल्क फिर्ता गर्नू, मासिक शुल्क नगरले निर्धारण गरेपछि लिनू



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाले एक पटक भर्ना शुल्क लिएर विद्यालय पढिरहेका विद्यार्थीलाई पटक पटक भर्नाको नाममा शुल्क नलिन निर्देशन दिएको छ । नीजि विद्यालयले हरेक बर्ष विद्यार्थीको कक्षा बढुवासँगै भर्नाको नाममा शुल्क लिदै आएका छन् ।

शिवराज नगरपालिकाको नगर शिक्षा समितिको बैठक बसेर एक पटक भर्ना भएर पढिरहेका विद्यार्थीलाई नयाँ शैक्षिकसस्त्रमा पुनः भर्नाको नाममा शुल्क नलिन चेतावनी दिएको हो । यदि कसैले भर्नाको नाममा शुल्क लिएको भए तुरुन्त अभिभावकलाई रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

नगर प्रमुख अजय थापाले नीजि विद्यालयलाई एक निर्देशन पत्र पठाउँदै भनेका छन्,- ‘संस्थागत विद्यालयले विद्यार्थी भर्ना हुँदा एकपटक मात्र जुन कक्षामा भर्ना हुने हो सोही कक्षाको स्वीकृत मासिक शुल्कको एक महिनाको शुल्क लिन पाइने व्यवस्था भएकोमा केही विद्यालयहरुले पुराना विद्यार्थीलाई समेत भर्ना शुल्क लिएको बुझिएकाले कानून विपरित लिइएको भर्ना शुल्क यथाशिघ्र फिर्ता हुने व्यवस्था मिलाउन निर्देशन छ ।’

मासिक शुल्क नगरले निर्धारण गर्ने

साथै नगर प्रमुख थापाले नीजि विद्यालयले कति शुल्क लिने हो नगरले निर्धारण गर्ने पनि बताएका छन् । सोही पत्रमा नगरपालिकाबाट निर्धारण भएपश्चात मासिक शुल्क लिनुपर्नेमा नगर प्रमुखको जोड छ । हाल मासिक शुल्क नलिन पनि नीजि विद्यालयलाई थापाले निर्देशन दिएका छन् । नीजि विद्यालायले आफूखुसी अभिभावकबाट मासिक शुल्क उठाउँदै आएका छन् ।
नीजि विद्यालयलाई यस्तो प्रकारको निर्देशन दिने शिवराज कपिलवस्तुको पहिलो पालिका हो ।

प्रकाशित मिति : १३ बैशाख २०८१ बिहिबार ००:००  ८ : ०५ बजे