२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

श्रृङ्गीघाट सामुदायिक वनकाे साधारण सभा सम्पन्न : नमूना कामकाे प्रशंसा



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा- १ मा अवस्थित श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समुहको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सोमबार ‘रुख रोपौं, वन जोगाऔं’ भन्ने मूल नाराका साथ १२ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन बाणगङ्गा ४ श्रीपेच होटलमा आयोजना भएको थियो ।

कार्यक्रममा बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले नेपालको वन १२ महिनाको धन बन्न सक्नुपर्ने बताए । बन उपभोक्ताहरुको हक हितका लागी वनले अझै राम्रो काम गर्दै जानुपर्ने बताए । उनले बाणगंगाका ३६ ओटा वन मध्ये सबैकाे उत्तिकै स्रोत नभएको बताए । उनले स्थानीय सरकार, वन कार्यालयहरु डिभिजन, सव डिभिजन सवै निकायहरु बीच सहकार्य हुन जरुरी रहेको बताए ।

नगर प्रमुख अर्यालले वनका बजेटलाई सहि स्वरुपले खर्चिन आग्रह गर्दै आर्थिक पारदर्शीमा जोड दिनुपर्ने औल्याए । नगर प्रमुख अर्यालले सामुदायिक बनमा सरकारले अवलम्बन गरेको बन सम्बर्धन प्रणाली अनुसार बन व्यवस्थापनको काम भइरहेकाले समुहहरु यसैतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

यस्तै वैज्ञानिक वन उपझोक्ता महासंघका केन्द्रिय अध्यक्ष रेणु सेनले सामुदायीक बनहरुले महिलाहरुलाई उद्यमी बनाउनुपर्ने बताइन् । उनले सम्पूर्ण सामुदायिक वनहरुले महिलाका लागाी तालिम मात्रै नभएर केही रकम बजेट छुटाउन आग्रह गरिन् । सेनले वैज्ञानिक वन व्यवस्थापनको बारेमा ज्ञान नै नभई बोल्ने गरेकाले उनले त्यसो नगर्न आग्रह गरिन्।

सामुदायिक बन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष हुमनाथ भट्टराईले सामुदायिक बनहरुले दिगो बन व्यवस्थापनको अवधारणामा नेपाल सरकारको बन सम्बर्धन प्रणाली अनुसार बन संरक्षण र व्यवस्थापनका कामहरु समुहले अघि बढाइरहेको बताए । फेकोफनले समुहको क्षमता विकास र बन व्यवस्थापनमा महत्वपूर्ण काम गरेकोले सामुदायिक बनको अवधारणा सफल भएको बताए ।

कार्यक्रमका अध्यक्ष गणेश बहादुर सिंह ठकुरीले वनले आम्दानीका स्रोत बढाउने, रोजगारी सृजना गर्ने बताउदै देशलाई काठमा आत्मनिर्भर बनाउनु पर्ने बताए । उनले गरिव उपभोक्ताहरुलाई कसरी माथी उठाउने, वनको हेरचाह कसरी गर्ने भन्ने कुराहरु सबैले बुझ्न जरुरी रहेको जोड दिए । बुढा रुख काट्ने, काटेका ठाउँमा नयाँ विरुवा रोप्ने र रोपेका विरुवा हुर्काउने र संरक्षण गर्ने तर्फ आफनो समुह योजनाबद्ध तरिकाले लागेको बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वाणगंगा गजेहडा भुपु सैनिक खानेपानीका अध्यक्ष राजेन्द्र बिक्रम शाह, शिव मन्दिर सामुदायिक बन समुहका अध्यक्ष झलक मल्ल ठकुरी, फेकोफनका जिल्ला अध्यक्ष जयलाल गिरी, पैदावार महासङ्ग लुम्बिनी प्रदेश अध्यक्ष रुक बहादुर भुसाल, मोतिपुर सव डिभिजन कार्यालय प्रमुख अहमत अन्सरी, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष किरणमान बजार्चाय, समाजसेवी सोमनाथ अर्याल, विष्णु थापा लगायतले श्रृङ्गीघाट सामुदायिक वन जिल्लामै बन संरक्षण र समुदायको विकासमा नमुना काम गर्न सफल भएकोले उत्कृष्ट रहेको बताएका थिए ।

उनीहरुले सामुदायिक बनले पर्यटकीय स्थलको विकासका लागि समेत थप काम गनुपर्नेमा जोड दिएका थिए । बनकाे संरक्षण र व्यवस्थापन गर्दै स्वास्थ्य, शिक्षा, आयआर्जन, रोजगारी, पूर्वाधार विकास संगै सामाजिक विकासको क्षेत्रमा महत्वपूर्ण योजनाहरु अघि बढाएको छ ।

जिल्लामा ठुलो क्षेत्रफल समेत ओगटेको सामुदायिक बनले बार्षिक ८ करोड बढीकाे अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गरेको थियो । कार्यक्रममा अटो रिक्सा चालक ३ जना महिलाहरुलाई उच्च कदर गर्दै सम्मान स्वरुप ३ हजार नगदसहित प्रशंसा पत्र, मायाको चिनोले सम्मान गरीएको थियो ।

कोषाध्यक्ष हरि प्रसाद पौडेलले आर्थिक प्रतिवेदन, सचिव सुस्मा खाँणले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । अध्यक्ष गणेश बहादुर सिंह ठकुरी (शुसिल)ले सहभागी सबैलाई धन्यवाद प्रदान गरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव सुस्मा खाँणले गरेकी थिइन् । पाँचौ अधिवेशनले आगामी ५ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

प्रकाशित मिति : ३ मंसिर २०८१ सोमबार ००:००  ८ : ४२ बजे