२२ मंसिर २०८१, शनिबार | Sat Dec 7 2024

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानमा सुरक्षा तालिम



वाणगंगा ।

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा सिद्धार्थ सामाजिक विकास केन्द्रले विविध कार्यक्रम गरेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरेको १६ दिने लैगिंक हिंसा विरुद्धको अभियानका क्रममा संस्थाले स्थानीय समुदाय, पालिका तथा संघसंस्थाको सहकार्यमा सचेतना अभिवृद्धिको काम गरेको हो । संस्थाले वाणगंगा नगरपालिकामा सकृय समूह, संस्थाका अगुवा महिलाहरुका लागि २ दिने सुरक्षा प्रवर्धन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।

तालिममा मानव अधिकार, महिला अधिकार, लैगिंक हिंसा, सुरक्षा, न्याय, सामाजिक विभेद जस्ता विषयमा संस्थाका कार्यसमिति सदस्य राेमकान्त घिमिरेले सहजीकरण गर्नुभएको थियो । तालिममा हिंसा न्यूनिकरण तथा रोकथाममा समुदायको भूमिका के कस्तो हुनुपर्छ भन्ने विषयमा समुहगत छलफल समेत गरिएको थियो । तालिमले लैंगिक हिंसाका बारेमा सचेतना फैलाउदै सुरक्षित र हिंसामुक्त समाज निर्माणमा टेवा पूग्ने विश्वास लिइएको छ । तालिममा सहभागीले विभिन्न प्रकारका हिंसाका घटना समाजमा विद्यमान रहेकाले यसको रोकथाममा कानुनी तथा व्यवहारिक शिक्षा आवश्यक रहेको बताएका थिए ।

सहभागी सुनिता सेनले संस्थाले दिएको तालिमले महिलाहरुलाई सक्षम बनाउदै समाज रुपान्तरणमा टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिकी सदस्य सुमित्रा परियारले महिलाहरु हिंसामा परिरहेकाले यसको रोकथाममा सरोकारवाला निकाय जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

तालिम समापन समारोहका अध्यक्ष हरि अधिकारीले लैगिंक हिंसा विरुद्धको अभियानमा आम समुदायलाई सचेत बनाउन आवश्यक रहेको बताउदै संस्थाले महिलाहरुको क्षमता विकास र शसक्तिकरणमा धेरै काम गरिरहेको जानकारी दिनुभयो । हामी सवैको प्रतिवद्धता, लैगिंक हिंसा अन्त्यका लागि ऐक्यवद्धता भन्ने नारा सहित विभिन्न संघसंस्था तथा सरकारी तवरबाट राष्टिय स्तरमै विविध कार्यक्रम गरी यो दिवस मनाइएको उहाँले बताउनुभयाे।
सिद्धार्थ सामाजिक विकास केन्द्रले, अभियान अन्तरगत आगामी दिनमा अझै पनि विभिन्न कार्यक्रमहरूको माध्यमबाट लैंगिक हिंसा विरुद्धको जनचेतना फैलाउने कार्यक्रम रहेको संस्थाले जनाएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८१ मंगलबार ००:००  १० : ११ बजे