२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

१५ औं कपिलवस्तु महोत्सवः यस कारण हुँदैछ विशेष



दीपा महत, कपिलवस्तु ।

कपिलवस्तु जिल्लाकै पहिलो १५ औँ कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । शनिबार पत्रकार सम्मेलन गरी महोत्सवको ८० प्रतिशत काम सकिएको आयोजक कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक गणेश क्षेत्रीले जानकारी दिनुभयो । जिल्लाकै पहिलो यस महोत्सवलाई विगतका वर्ष भन्दा अझ विशेष बनाउन आयोजक लागि परेको छ ।

मंसिर १९ गतेदेखि पौष २ गतेसम्म बुद्ध रंगशाला चारनम्बर जितपुरमा हुने प्रदर्शनीको प्रवेशद्धारले पनि दर्शकलाई लोभ्याउने भएको छ ।
अहिलेको महोत्सवमा मूल गेट पशुपतिनाथको मन्दिर आकारमा बन्ने छ । त्यसका लागि शनिबारदेखि नै बंगाली कालिगढले पशुपति आकारको गेट निर्माण सुरु गरेछन् ।

अहिले बुद्ध रंगशालाको अघि रहेको पर्खाल नै भत्काइएको छ पहिले प्रवेशद्धार साँघुरो भएकोले भीँडभाडमा समस्या भएको भन्दै उक्त पर्खाल भत्काएरै प्रवेशद्धार ठुलो बनाउने काम भइरहेको संयोजक क्षेत्रीले बताउनुभयो ।

अहिलेको महोत्सवको प्रवेद्धारबाट नै दर्शकले सकारात्मक अनुभूति पाउने छन । प्रवेशद्धारको भित्रपट्टीका स्टल पनि आकर्षक ढंगले सजाइने भएको हुँदा गतबर्षका महोत्सव भन्दा बेग्लै देखिने संयोजक क्षेत्रीको भनाइ छ ।

१५ औं कपिलवस्तु महोत्सवमा बालुवामा साइक्लिङ, प्रदेशस्तरीय महिला कबड्डी, स्कुल स्तरीय भलिबल, लगायतका खेलकुद हुने भएपछि यो महोत्सवमा थप रौनकता थपिएको छ ।

यस्तै यस पटकको महोत्सवमा एक जनाले एक पटकमा १० वटा भन्दा बढी टिकट खरिद गर्न नपाउने व्यवस्था मिलाएको छ । हरेक दिन टिकटको रङ्ग परिवर्तन हुने व्यवस्था आयोजकले मिलाएको भन्दैैं यसले डान्स आईडललाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने संयोजक क्षेत्रीले विश्वास ब्यक्त गर्नुभयो ।

उहाले सामान्य व्यक्तिका लागि टिकट ७० रुपैयाँ र विद्यार्थी लागि ५० रुपैयाँ निर्धारण गरिएको जानकारी दिनुभयो । महोत्सवमा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न संघले दैनिक रुपमा स्थानीय स्तरमै उत्पादित सामग्रीको मात्र प्रयोग गर्ने बताउनुभयो ।
मेलामा २ लाख दर्शक भित्राएर करिब १० करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको संयोजक क्षेत्रीले बताउनुभयो ।

महोत्सव स्थलमा ३ सय वटा व्यवसायिक र २० वटा होटलका स्टलहरहने छन् भने कृषि, वन तथा स्थानीय उत्पादनको प्रदर्शनी, प्रचारप्रसार, विक्रि वितरणको प्रयोजनका लागि ५० वटा स्टल निर्माण गरिएको छ ।

महोत्सवमा स्थानीय उत्पादकहरुका लागि निःशुल्क स्टलदेखि ३५ प्रतिशतसम्म छुट दिइएको छ । यस्तै महोत्सवमा मदिरा विक्रि वितरणलाई निषेध गरिने छ भने प्रतिबन्धित खेलहरु खेलाइने छैन । अध्यक्ष क्षेत्रीले स्थानीय उत्पादन, कला, संस्कृतिको प्रचारप्रसार र प्रवद्र्धन गर्न संघले मञ्च उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।

यस्तै बाणगंगा नगरपालिकाका विभिन्न क्षेत्रमा कपडा बैंक स्थापनाका लागि कपडा बैंकका एम्बेस्टर तथा महानायक राजेश हमाल आउने बताउनुभयो । यस्तै १५ औं कपिलवस्तु महोत्सवको उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्नुहुने भएको छ ।

पत्रकार सम्मेलनमा महोत्सवका निर्देशक समेत रहेका हुमानाथ पौडेल, निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, महासचिव नवदत्त घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्रचार्य लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०८१ शनिबार ००:००  ८ : ११ बजे