दीपा महत, चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाले शिक्षा क्षेत्रमा नयाँ अभ्यास सुरु गरेको छ । नगरपालिकाले नगरभित्रका हरेक सामुदायिक विद्यालयमा गुनासो पेटिका (यल्लो बक्स) राखेको छ । यल्लो बक्समा विद्यार्थीले विद्यालय तथा शिक्षकप्रति आफ्ना गुनासा तथा सल्लाह सुझाव भएमा राख्न सक्नेछन् ।
यसले विद्यालयमा भएका कमिकमजोरी सुधार्न सहज हुने नगर प्रमुख अजय थापाले विश्वास व्यक्त गर्नुभयो । नगरका सबै सामुदायिक विद्यालयमा भएका यल्लो बक्समा ढुक्कसँग आफ्ना गुनासा राख्न प्रमुख थापाले आग्रह गर्नुभयो ।
गुनासो राख्ने विद्यार्थीले आफ्नो नाम खुलाउन नपर्ने भन्दै यसले गुणस्तरीय शिक्षामा सहज हुने बताउनुभयो । यल्लो बक्समा आएको गुनासोलाई नगरपालिकाका शिक्षा शाखाका कर्मचारीहरूले नगर प्रमुखको रोहवरमा खोलेर समस्या समाधान गर्ने गरेका छन् । यसरी नगरपालिकाले आफ्नो रोहवरमा विद्यालयमा यल्लो बक्स राखेको हो ।
शिवराज नगरपालिकाले कुल बजेटको २५ प्रतिशत शिक्षालाई छुट्याएको छ । समाजका समस्या गरिवी, जातिय विभेद, हिंसा लगाएतको मुख्य कारण नै अशिक्षा भएकाले आफूले शिक्षालाई विशेष प्राथामिकता दिएर काम गरेको प्रमुख थापाले मायादेवीलाई बताउनुभयो ।
जुन घर परिवार शिक्षित तथा आर्थिक रुपमा अब्बल छ त्यस्तो परिवार कहिले पनि समाजबाट अपहेलित हुन नपर्ने भन्दै शिक्षाबाट नै समाजका नकरात्मक पक्षलाई चिर्न सकिने मेयर थापाको भनाई छ ।
आफूले दीर्घकालिन सोच राखेर शिक्षामा विशेष जोड दिएको भन्दै यसको प्रतिफल केही वर्षपछि देखिने बताउनुभयो । शिवराजमा आर्थिक अभावकै कारण कोहीपनि शिक्षाबाट बञ्चित हुन नपरोस भनेर मावि सम्मको शिक्षा निःशुल्क गरेको थापाको भनाई छ । शिक्षामा लगानी गरेर शिवराजले दक्ष जनशक्ती उत्पादन गर्नेगरी काम गरेको थापाको भनाई छ ।
अब स्नातकसम्मनै निःशुल्क शिक्षाको लागि पहल गर्ने मेयर थापाले उद्घोष गर्नुभयो ।
प्रतिक्रिया