२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

दुई वर्षअघि मुलुकमै उत्कृष्ट बनेको कपिलवस्तु अस्पताल ५ महिनादेखि मेसु विहीन



कपिलवस्तु ।

दुई वर्षअघि सरकारले देशभरमै उत्कृष्ट घोषित कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पताल अहिले भने अस्तव्यस्त र दयनीय अवस्थामा पुगेको छ । करिब पाँच महिनादेखि अस्पताल मेडिकल सुपरिटेन्डेन्ट ९मेसु० नहुँदा अस्पताल दयनीय अवस्थामा पुगेको हो ।

नवौँ तहको मेसुको दरबन्दी रहेको अस्पतालमा अहिले ल्याब फाँटका छैटौँ तहका कर्मचारी राकेशकुमार शाहलाई निमित्त मेसु बनाइएको छ । ६ महिनाअघि डा। विपिन जैसवाललाई सरुवा गरी मेसुका रूपमा किशोर बन्जाडेलाई ल्याइएको थियो ।

तर, दुईबिचको आपसी लडाइँले अस्पतालमा राजनीति छिरेको कार्यरत कर्मचारीको भनाइ छ । कांग्रेस र एमाले नेताले मेसु राख्ने र सरुवा गर्ने कार्यलाई प्रतिष्ठाको विषय बनाउँदा अहिले अस्पताल दयनीय अवस्थामा पुगेको कर्मचारीहरू बताउँछन् । मेसु बन्जाडेको एक महिनामै दुईपटक थमौती र दुईपटक सरुवा भएको थियो ।

मेसु बन्जाडेको अन्ततः विराटनगर सरुवा भएयता अस्पताल मेसुविहीन अवस्थामा छ । सरुवाकै बिचमा अस्पतालमा ८६ लाखको औषधि खरिदलगायत विषयमा अनियमितता भएको विषय बाहिर आएको थियो । अस्पतालमा राजनीति छिरेपछि स्वास्थ्य कर्मचारीले पाउने सेवा–सुविधासमेत रोकिएको छ ।

फार्मेसीमा औषधिसमेत छैन,अल्ट्रासाउन्डले काम गर्दैन

आठ महिनादेखि स्वास्थ्यकर्मीले पाउँदै आएको सुविधा रोकिएको छ । फार्मेसीमा औषधि सकिएको छ । औषधि खरिदका लागि नयाँ खरिद समितिसमेत बन्न सकेको छैन । अस्पताल आउने स्वास्थ्य बिमा तथा अन्य बिरामी औषधि नपाउँदा निराश बनेर फर्किने गरेका छन् । अल्ट्रासाउन्ड मेसिनसमेत महिनौँदेखि बिग्रिएर थन्किएको छ ।

अस्पतालमा रहेको एउटा मात्र इसिजी मेसिनसमेत बिग्रिएको छ । डाक्टर अभावले आमा सुरक्षा कार्यक्रमसमेत प्रभावित भएको अस्पताल स्रोतको भनाइ छ । अस्तव्यस्त हुँदासमेत अस्पतालजस्तो संवेदनशील ठाउँ तीव्र राजनीतिको सिकार भएको मानव अधिकारकर्मी रवि ठाकुरले बताए । ‘अस्पतालमा सेवा बढाउनुभन्दा राजनीतिक दल मेसुको सरुवा गर्न र रोक्नमै लागेका छन् । अस्पताल सुधारमा कसैले चासो छैन,’ उनले भने ।

डाक्टर र औषधि अभावले बिरामी मर्कामा

निमित्त मेसु शाहले अस्पतालप्रति बिरामीको विश्वाससमेत घटेको बताए । उनले अस्पतालमा मेसु नहुँदा धेरै काम रोकिएको बताए । डाक्टर र औषधि अभावले बिरामी मर्कामा परेको र अस्पतालमा राजनीतिक हस्तक्षेप रहेसम्म सुधार हुन गाह्रो रहेको उनको भनाइ छ ।

अस्पताल विकास समितिका अध्यक्ष शिवलाल यादवले राजनीतिक दलका नेता, मन्त्रालय, कसैले पनि कपिलवस्तु अस्पताल सुधारका लागि पहल नगरको गुनासो गरेका छन् । अब अस्पताल सुधारमा ढिलो गर्न नहुने उनको भनाइ छ ।

०२९ मा १५ बेडबाट कपिलवस्तु अस्पताल शुभारम्भ भएको थियो । ०७६ मा कपिलवस्तु अस्पताल ५० बेडमा स्तरोन्नति भएको थियो । अस्पतालमा सय बेडको सेवा शुभारम्भ गर्नुपर्ने विषय उठिहरेका वेला दयनीय अवस्थामा पुगेपछि जिल्लावासी निराश बनेका छन् ।

कपिलवस्तु दुई वर्षअघि ९६ अंकका साथ मुलुकमै उत्कृष्ट बनेको थियो ।

प्रकाशित मिति : १५ माघ २०८१ मंगलबार ००:००  ७ : ५३ बजे