२ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 14 2025

आफ्नै भवनमा जीतपुर मन्टेश्वरी, नगरप्रमुख अर्यालद्धारा उद्घाटन



कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.१ मा अवस्थित जीतपुर मन्टेश्वरीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । सोमबार वसन्त पञ्चमीको अवसरमा नगरप्रमुख चक्रपाणी अर्यालले उक्त भवनको उद्घाटन गरेका हुन् ।

जीतपुर मन्टेश्वरी असिम कँडेल क्षेत्री र विकास शर्माको संयुक्त लगानीमा विगत ६ बर्षदेखि संचालन हुदैं आएको छ ।

भवनको उद्घाटन गर्दै नगरप्रमुख अर्यालले विद्यालय संचालनलाई आर्थिक रुपले हेरिए पनि यो मुख्यतः सामाजिक काम भएको बताए । उनले मन्टेश्वरी स्कुल बालबालिकाहरुलाई सँस्कार, चालचलन सिकाउने महत्वपूर्ण थलो भएको बताए ।

मन्टेश्वरीका संचालक असिम कँडेल क्षेत्रीले बालबालिकाहरुको आवश्यकता र अभिभावकहरुको मागलाई ध्यानमा राखेर आफ्नै भवन निर्माण गरिएको स्पष्ट पारे । उनले बालबालिकाहरुको मनोविज्ञानलाई बुझेर मन्टेश्वरीले आफ्ना शैक्षिक तथा सिर्जनात्मक क्रियाकलाप संचालन गर्दै आएको बताए । उनले अभिभावकको पहिलो रोजाईमा जीतपुर मन्टेश्वरी पर्नुको मुख्य कारण पारिवारिक वातावरण नै भएको बताए ।
संचालक विकास शर्माले सुविधा सम्पन्न यस भवनमा बालबालिकामैत्री वातावरणसहितको व्यवस्थापन गरिएको बताए । उनले यस मन्टेश्वरीमा ससाना बालबालिकालाई आवश्यक सामग्रीसहित रमाईलो वातावरणको व्यवस्था मिलाईएको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संचालक सुसिल पौडेलले जीतपुर मन्टेश्वरीलाई अभिभावकको मागअनुसार स्तरोन्नति गर्दै लगिने बताए । उनले नगरले कक्षा १ सम्म संचालन गर्न स्वीकृत दिनुपर्ने माग समेत राखे । उनले संचालक समिति जीतपुर मन्टेश्वरीलाई जिल्लाकै एक उत्कृष्ट गन्तव्य रुपमा विकास गर्ने गरि लाग्ने तयारी रहेको बताए ।

कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष डोकलराम घिमिरे, व्यापार संघका अध्यक्ष खिमानन्द पौडेल समाजसेवी सुर्य बराल लगायतले सबै बालबालिकाहरुको उत्कृष्ट गन्तव्यका रुपमा जीतपुर मन्टेश्वरी विकास भईरहेको भन्दै खुशी व्यक्त गरेका थिए । कार्यक्रम पूर्णचन्द्र परियारको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २१ माघ २०८१ सोमबार ००:००  ७ : ५१ बजे