४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

तौलिहवाबाट एक चोर रंगेहात पक्राउ, २ जना फरार



दीपा महत, तौलिहवा ।

तौलिहवामा चोरको विगविगी बढ्न थालेपछि प्रहरीले खोजीकार्य तिब्र पारेको छ । यसैबीच शुक्रबार मध्यरातमा एक चोर रंगेहात पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका १ स्थित कैलाश टोलका जनार्दन पराजुलीको घरमा चोरी गर्न आएका ३ जना चोर मध्ये एक जना पक्राउ परेका हुन् ।

शुक्रबार मध्य रातमा घरमा कोही नभएको ठानी चोरहरु पराजुलीको घरमा पसेका थिए । आफ्नो घरमा पसेको थाहा पाए पछि परजुलीले प्रहरीलाई खबर गरेका थिए । जानकारी लगत्तै प्रहरीले पराजुलीको घर घेराउ गरेको थियो ।

लगत्तै प्रहरीले एक जनालाई पक्राउ गर्न सफल भयो । अन्य २ जना भने फरार रहेका छन् । प्रहरीले पक्राउ गरेको चोरलाई आफुले चिनेको जनार्दन पराजुलीले बताएका छन् । उसको घर बरन्डीहीया रहेको पनि पराजुलीले पुष्टी गरे ।

यता प्रहरी नायब उपरिक्षक मोहन मणि अधिकारीले शुक्रबार राति एक जना पक्राउ परेको बताए । जिल्लाका विभिन्न ठाउबाट अहिले सम्म ६ जना शंकास्पद ब्यक्ति पक्राउ परेको उनले जानकारी दिएका छन् ।

पछिल्लो समय जिल्लाको सदरमुकाममै चोरीका घटना बढेका छन् । चोरले घरमा कोही नभएको मौका छोपी श्रृंखलाबद्ध रुपमा चोरी गर्दै आएको छ । प्रहरीले पनि अनुसन्धान प्रकृया अघि बढाएको भन्दै सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।तौलिहवामा पछिल्लो ३ दिनमा मात्र ८ घरमा चोरी भएको थियो । यससंगै चोर पक्राउ गर्न भन्दै विभिन्न राजनैतिक दलले प्रशासनमा ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित मिति : २६ माघ २०८१ शनिबार ००:००  १ : ४१ बजे