मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा जारी छैठौं मेयर कपको उपाधि वडा नम्बर १ ले जितेको छ । शनिबार भएको फाइनल खेलमा वडा नं.२ लाई २–१ गोलले पराजित गर्दै वडा नं.१ च्याम्पियन बनेको हो ।
वडा नं.१ को जीतमा रोशन सेन र कुनाल सारुले एक-एक गोल गरे । वडा नं.२ का लागि युवराज चौधरीले एक गोल गरे ।
फाइनल खेलमा वडा नं.१ का लागि एक गोल गरेका कुनाल नै ‘म्यान अफ दि म्याच’ घोषित भए ।
कुनाल प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खेलाडी समेत बनेका छन् । उनले प्रतियोगिता अवधिभर ४ खेलमा ४ गोल गरेका हुन् । सर्वाधिक गोलकर्ता बनेका कुनालले ‘प्लेयर अफ दि टुर्नामेन्ट’ को उपाधि समेत जितेका छन् ।
उनले नगद ५ हजारसहित ट्रफ्री प्राप्त गरे । उपाधि हात पारेको वडा नं.१ ले नगद १ लाख ५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको नगर खेलकुद विकास समितिका अध्यक्ष पदम सेनले जानकारी दिए ।
उपविजेता बनेको वडा २ ले ७५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने सेमिफाईनल प्रवेश गरेका वडा नं.९ र १० ले नगद ३५र३५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
खेलाडीहरुलाई लुम्बिनी प्रदेश सांसद विष्णु पन्थी, नगरप्रमुख चक्रपाणी अर्याल लगायतका जनप्रतिनिधिहरुले पुरस्कार प्रदान गरेका हुन् ।
यसैबीच बैरिया युवा समाजले फाइनल खेलमा उत्साह थप्न वडा न. १ को टिमको तर्फबाट पहिलो गोल र दोश्रो गोल गर्ने खेलाडीलाई क्रमशः १००० र २५०० का दरले नगद पुरस्कार प्रदान गरिएको समाजका अध्यक्ष विष्णु घिमिरले मायादेवी अनलाइनलाई बताए ।
प्रतिक्रिया