दीपा महत, बुद्धभूमि ।
राष्ट्रिय अभियानको रूपमा सुरु भएको पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानमा कपिलवस्तुमा उल्लेखनीय सहभागिता भएको पाइएको छ।
खोप अभियानमा कपिलवस्तुमा हालसम्म ३६ हजार ८ सय ८३ अर्थात् लक्ष्यको ८३ प्रतिशत किशोरीले यो खोप लगाइसकेका छन्।
अहिलेसम्म महाराजगंज नगरपालिकाका चार हजार ८ सय ४४, कपिलवस्तु नगरपालिकाका चार हजार पाँच सय ५३, शिवराजका पाँच हजार ८ सय ५१ र कृष्णनगरका चार हजार ८ सय ५७ किशोरीले खोप लगाएका हुन् यसैगरी यशोधराका दुई हजार ६ सय ३, विजयनगरका दुई हजार ८० किशोरीले खोप लगाएको डब्लुएचओका खोप संयोजक मोहम्मद असलम शैखले जानकारी दिए ।यी पालिकामा पहिलो चरणको अभियान सकिएको छ ।
यसैगरी दोस्रो चरण अन्तरगत शनिबारसम्म बाणगंगाका तीन हजार ८ सय ५, बुद्धभूमि नगरपालिकाका तीन हजार ३ सय ९२, मायादेवीका दुई हजार ८ सय ८१ र यशोधारा गाँउपालिकाका १ हजार ९ सय ९० किशोरीले एचपीभी खोप लगाएका छन् ।
यहि माघ २२ गतेदेखि फागुन ६ गतेसम्म संचालन हुने खोप अभियान अन्तरगत जिल्लाका ४४ हजार ४ सय ७१ जना किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य राखिएको छ ।
अहिलेसम्मको सहभागिता हेर्दा जिल्लामा एचपिभी खोप अभियान सफल हुने स्वास्थ्य कार्यालयले जनाएको छ । ‘केहि मदरसाका मौलानाले अवरोध जनाउनुभएको थियो पछि हामी गएर सम्झायौ र उहाहरु सहमत हुनुभयो र मदरशाका किशोरीलाई खोप लगायौ, संयोजक शैखले भने, ‘खोप लगाउने क्रममा कुनै किशोरीलाई केहि समस्या भएन अभियानलाई साथ दिने सबैमा धन्यवाद । ’ सबै किशोरीलाई खोप अभियानमा सहभागी हुन पनि उनले आग्रह गरे ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जिल्लाभरका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरी समेतलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिएको हो ।
महिलाहरूलाई हुने पाठेघरको क्यान्सर संसारका सबै देशहरूमा नै जनस्वास्थ्यको प्रमुख समस्याको रूपमा देखा परेको छ ।
पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले किशोरीहरूलाई एचपिभी नामक भाइरसविरूद्ध उक्त खोप दिइएको हो ।
प्रतिक्रिया