४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

बोडगाँउबाट मालपोत र नापी कार्यालयको सेवा सुरु



बाणगङ्गा ।

बाणगङ्गा नगरपालिका–८, बोडगाउँमा मालपोत तथा नापी कार्यालय स्थापना भई औपचारिक रूपमा सेवा प्रवाह सुरु भएको छ । आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कार्यालयको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा मन्त्री अधिकारीले स्थानीयवासीलाई अब जग्गा नापजाँच, नामसारी, धनीपुर्जा प्रमाणीकरण जस्ता सेवाहरू सहज रूपमा उपलब्ध हुने बताएका छन् । साथै, उनले सेवा छिटो, छरितो र पारदर्शी बनाउन प्रविधिको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए । मन्त्री अधिकारीले सरकारी सेवाहरू जनताको पहुँचमा ल्याउने सरकारको नीति अनुरूप कार्यालय स्थापना गरिएको बताउँदै भूमिसम्बन्धी अनियमितता, ढिलासुस्ती तथा विचौलियाको भूमिकामा कडाइ गर्न निर्देशन दिए ।

कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले स्थानीय तहमा कार्यालय स्थापना हुनु ठूलो उपलब्धि भएको बताउँदै सेवा प्रभावकारी बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको धारणा राखिन् । उनले भूमि सुधार नीतिहरू कार्यान्वयन गर्न मालपोत तथा नापी कार्यालयको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन् ।

प्रदेशसभा सांसद गिरिधारीलाल न्यौपानेले कार्यालय सञ्चालन भएसँगै स्थानीयवासीलाई सहज र छिटो सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे । उनले भूमि व्यवस्थापनमा देखिएको जटिलता समाधान गर्न र जनतालाई प्रभावकारी सेवा दिन कार्यालयलाई आवश्यक सबै सहयोग प्रदान गरिने बताए ।

त्यसैगरी, बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले कार्यालय स्थापनाले स्थानीयवासीलाई धेरै राहत मिल्ने बताउँदै सेवाग्राहीलाई छिटो र सरल सेवा दिन कर्मचारीहरूलाई निर्देशित गरे । साथै, उनले भविष्यमा थप सेवा विस्तारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यालय सञ्चालनको पहिलो दिन बाणगङ्गाका दुइ जनाले सेवा लिएका छन् । सेवाग्राहीहरूले कार्यालय स्थापना भएसँगै अन्यत्र जानुपर्ने बाध्यता हटेकोमा खुशी व्यक्त गरेका छन् ।

स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, उद्योगी–व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको उद्घाटन समारोहमा सहभागीहरूले नयाँ कार्यालय स्थापनाले सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गरेका छन् ।

यसरी, बाणगङ्गामा मालपोत तथा नापी कार्यालय स्थापनासँगै स्थानीयवासीले प्रत्यक्ष रूपमा लाभ लिन थालेका छन् । अब उनीहरूलाई समय र खर्चको बचत हुनेछ, जसले सेवा सहज र प्रभावकारी बन्नेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१ आइतबार ००:००  ८ : २७ बजे