दीपा महत, बुद्धभूमि ।
भौतिक विकासले मात्र समाज परिवर्तन नहुने बुद्धभूमि नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुशिल कुमार चौधरीले बताएका छन् । गाँउघरमा पक्की बाटो, नाला, पुल लगाएत पूर्वधारले मात्र नहुने भन्दै जनताको शिक्षा तथा स्वास्थ्य सबैभन्दा महत्वपूर्ण रहको बताए ।
मायादेवी अनलाइन संगको कुराकानीमा बोल्दै अध्यक्ष चौधरीले आफुहरुले प्रत्येक वर्ष योजना संकलन गर्दा धेरैले भौतिक पक्षलाई मात्र अगाडी सार्ने गरेको भन्दै शिक्षा, स्वास्थ्य लगाएतका सामाजिक पक्षको विकास प्रति कम चासो रहेको बताए ।
चौधरीले भने, ‘भौतिक पूर्वधारमात्र विकास होइन यो कुरा हामीले राम्रो संग बुझेका छौ, जबसम्म चेतनाको विकास हुदैन तबसम्म जति संरचना निर्माण भएपनि दिगो हुन सक्दैन् र हामीले योजना बनाउदा दिगो विकासको लक्ष्यलाई सहयोग पुग्नेगरी योजना बनाउँछौ । ’
बालबालिका, महिला, जेष्ठ नागरिक तथा अपांगता भएका सबैलाई समेटेर योजना बनाउने गरेको भन्दै वडाले सबै नागरिकको लागि समान तवरले काम गर्ने बताए ।
अध्यक्ष चौधरीले वडामा छाडा पशुचौपाया नियन्त्रणका लागि जंगलको किनारमा जाली तथा तारबार लगाउने, खरको छानामुक्त वडा बनाउन जस्तापाता वितरण, कृषकका लागि विशेष अनुदान लगाएतका कार्य गरेको बताए । वडाले निर्माण गरेका संरचनाको सरसफाइ तथा सुरक्षा गर्नु नागरिकको कर्तब्य रहेको उनको भनाई छ ।
अहिले खोलानाला खुल्न ढिला भएका कारण विकास निर्माणको कामले रफ्तार लिन नसकेको स्विकार गर्दै प्रतापपुर गाँउमा क्रियापुत्री टहरा निर्माण सम्पन्न गरेको बताए । यसैगरीअहिले भैरम्पुरको विद्यालयमा वाल बाउण्डरीको लागि जाली निर्माणको काम हुनुका साथै जोतपुरमा भित्रिबाटो पिसीसीको काम जारी रहेको बताए लगत्तै बुड्ढी र मोर्मामा नाला निर्माणको काम सुरु हुन लागेको जानकारी दिए ।
यसैगरी सामाजिक विकास तर्फ जेष्ठ नागरिकलाई न्याने कपडा वितरण, आँखा शिविर, वडा स्तरीय खेलकुद प्रतियोगिता, डेंगु नियन्त्रणका लागि वडा स्तरीय सरसफाई लगाएतका काम गरेको बताए ।
वडा अध्यक्ष चौधरीले युवालाई सिप सिकाउन कम्पूटर तालिम राख्नुका साथै कृषकलाई ब्यवसायीक रुपमा कृषि गर्नको लागि तरकारी खेती तालिम आयोजना गरेपनि कम मात्रामा आवेदन आउदा उक्त कार्यक्रम संचालन गर्न नसकेको बताए । बाहिरी रुपमा सिप भएन भनेर गुनासो आएपनि वडाले कार्यक्रम ल्याउदा चासो नदेखाउनु दुखद भएको उनको भनाई छ ।
निर्वाचनको समयमा आफुले गरेका प्रतिबद्धताहरु अनुरुप काम गरिरहेको भन्दै विस्तारै ति घोषणा पुरा गर्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया