२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

नेपालमा शिक्षाको ढाँचा परिवर्तन गर्नुपर्छः शंकर पोखरेल



कपिलवस्तु ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा शिक्षाको ढाँचा परिवर्तन गर्नुपर्ने बताएका छन्।

कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी नमुना माध्यमिक विद्यालयको १५ कोठे भवन उद्घाटन गर्दै उनले वर्तमान शिक्षालाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिएका हुन्।

महासचिव पोखरेलले वर्तमान शिक्षा प्रणाली साधारण रहेको र यसलाई व्यवसायिक शिक्षामा रूपान्तरण गर्नुपर्ने बताए। उनले व्यवसायिक शिक्षाले मात्रै युवाहरूलाई आत्मनिर्भर बनाउन सक्ने उल्लेख गरे। यसका लागि पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्दै व्यावहारिक सीपमा आधारित बनाउनुपर्ने धारणा राखे।

त्यस अवसरमा उनले देशमा नकारात्मक भ्रम फैलिएको बताउँदै यथार्थ बुझ्न आग्रह गरे। उनले नेपालमा केही छैन भन्ने धारणा गलत रहेको भन्दै विकास निर्माणमा निरन्तर लाग्नुपर्ने आवश्यकता औँल्याए।

पूर्वलुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले आफ्नो कार्यकालमा कपिलवस्तु जिल्लाका विभिन्न सडक परियोजनाहरूमा पहल गरेको दावी गरे।

हुलाकी मार्ग, चन्द्रौटा–कृष्णनगर सडक, तथा हाल निर्माणाधीन बुटवल–गोरुसिंगे सडकका लागि आफूले विशेष पहल गरेको बताए। उनले कपिलवस्तु शिक्षाका दृष्टिले पछाडि रहे पनि अहिले सबै दृष्टिकोणबाट अघि बढिरहेकोमा खुशी व्यक्त गरे।

प्रकाशित मिति : ७ फाल्गुन २०८१ बुधबार ००:००  ६ : ११ बजे