बाबुराम रायमाझी, जितपुर ।
‘स्वस्थ जीवनका लागि स्वच्छ र शुद्ध खानेपानी’ भन्ने मूल नाराका साथ बनगाइ-मोतिपुर-चप्परगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको तेस्रो साधारणसभा सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा नम्बर ७ का अध्यक्ष विष्णु गिरीले वडाभित्र रचनात्मक र सिर्जनात्मक विकास योजनाहरू सञ्चालन भइरहेको जानकारी गराउँदै वडा नम्बर ७ र ८ का स्थानीयहरूका लागि खानेपानी परियोजना निर्माणका लागि संघीय सरकारले १३ करोड रुपैयाँ बजेट स्वीकृत गरिसकेको जानकारी दिए। उनले ‘एक घर, एक खानेपानी’ अवधारणाअनुसार खानेपानी व्यवस्थापनलाई व्यवस्थित गर्ने लक्ष्य रहेको बताए।
उनले अन्य महत्त्वपूर्ण विकास योजनाहरूको चर्चा गर्दै बनगाइ-मोतिपुर सडक, खारखानी क्षेत्रको सौन्दर्यकरण तथा लक्ष्मणघाट शवदाह स्थललाई व्यवस्थित गर्ने योजनाबारे पनि अवगत गराए।
खानेपानी सरसफाइ उपभोक्ता महासंघका केन्द्रीय सदस्य तथा वाणगंगा-२ नन्दनगर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष विश्व कार्कीले उपभोक्ताहरूका लागि खानेपानीलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउँदै भने, ‘पहिले स्वच्छ पानी, त्यसपछि स्वास्थ्य, तेस्रो शिक्षा र त्यसपछि सडक, उनले नगरपालिकाले ‘एक वडा, एक खानेपानी संस्था’ नीति अपनाउनुपर्नेमा जोड दिँदै बनगाइ-मोतिपुर-चप्परगाउँ खानेपानी संस्थालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
साधारणसभामा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष डिलाराम भुसाल, खानेपानी सरसफाइ उपभोक्ता समितिका जिल्ला उपाध्यक्ष राधिका पौडेल, समाजसेवी खडानन्द भुसाल, संस्थाका सल्लाहकार शिवचन्द्र आचार्य लगायत स्थानीय अगुवाहरूले खानेपानी संस्थाको सफलताको शुभकामना व्यक्त गर्दै उपभोक्ताहरूको सहभागिता अझ प्रभावकारी हुनुपर्ने सुझाव दिए।
साधारणसभामा संस्थाका अध्यक्ष कृष्ण खनालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले खानेपानी सेवाको विस्तार, सरसफाइ व्यवस्थापन तथा उपभोक्ताका आवश्यकताहरूलाई ध्यानमा राखी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।
त्यस्तै, कोषाध्यक्ष विष्णु प्रसाद खनालले आर्थिक वर्ष २०८०-८१ को लेखा प्रतिवेदन सार्वजनिक गर्दै संस्थाको कुल आय-व्यय ५७ लाख ५६ हजार रुपैयाँ रहेको जानकारी गराए।
लेखा संयोजक इन्द्रमणि पाण्डेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक पारदर्शिता, व्यवस्थापन र भविष्यमुखी योजना बारे प्रकाश पारेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण खनालको अध्यक्षता, उपाध्यक्ष उदयमान कुवँरको स्वागत मन्तव्य र देवेन्द्र बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो। यो साधारणसभा स्थानीय खानेपानी व्यवस्थापन, सरसफाइ र दीर्घकालीन खानेपानी योजनाको दिशामा एउटा महत्वपूर्ण उपलब्धि बनेको सहभागीहरूले बताएका छन्
प्रतिक्रिया