२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

दोस्रो मुख्यमन्त्री कपिलवस्तु गोल्डकप फुटबल फागुन १४ गतेबाट हुने



दीपा महत, जितपुर ।

कपिलवस्तुमा दोस्रो मुख्यमन्त्री कपिलवस्तु (तिलौराकोट) गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । फागुन १४ गते बाट बुद्ध रंगशाला जितपुरमा सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको खेलकुद बिकास संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले बताए ।

प्रतियोगिता बारे जानकारी गराउन आइतबार राखिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले खेलकुदको माध्यमबाट तिलौराकोटको देशब्यापी प्रचारप्रसार हुने बताए । उनले भने, तिलौराकोट भवगान गौतम बुद्दले बुद्दत्त्व प्राप्त गरेको ठाउँ हो तर अझैसम्म जति बिकास हुनुपर्ने हो त्यो भएको छैन यस प्रतियोगिताले यहाँको प्रचारप्रसार गर्ने विश्वास लिएका छौ ।
खेल पर्यटनबाट तिलौराकोटको प्रर्बद्धन हुने उनको विश्वास छ ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले प्रतियोगिताले तिलौराकोट संगै सिंगो कपिलवस्तुलाई चिनाउन मद्दत गर्ने भन्दै प्रतियोगिता सफलताको शुभकामना दिए ।

उनले मिडियाबाट पनि प्रतियोगिताको प्रचारप्रसार गरिने भन्दै खेल अघि जिल्लाका सबै स्थानीय तहका प्रतिनिधी संग तिलौराकोट संगै खेलको बारेमा अन्तरक्रिया गर्न सके सकरात्मक प्रभाव पर्ने बताए । फाल्गुण २१ गतेसम्म संचालन हुने प्रतियोगितामा ८ टोली सहभागी हुने छन् ।

प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने तय भएको छ । उद्घाटन खेलमा कपिलवस्तु ११ र संकटा क्लव भिड्ने छन् । यस्तै फाल्गुण १५ गते मछिन्द्रनाथ र हिमालय शेर्पाबीच खेल हुनेछ भने १६ गते बीएफ सी चितवन र थ्रि स्टार बीच खेल हुनेछ । यस्तै १७ गते जोन्जी एफसी  एफ सी सिक्कीम र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

खेलको प्रथम पुरस्कार नगद रु ११ लाख ११ हजार ११ सय ११ रहेको छ भने द्धितिय पुरस्कार ५ लाख ५५ हजार ५ सय ५५ रहेको छ यसका साथै सवोत्कृष्ट खेलाडीलाई नगद ५० हजार, उत्कृष्टलाई ३० हजार र प्रत्येक दिन म्यान अफ दि म्याचलाई दश हजार दिइने आयोजकले जनाएको छ । पहिलो चरणका खेलहरुमा टिकटदर रु.२००, सेमिफाईनल खेलमा ३०० र फाईनल खेलमा ४०० कायम गरिएको छ । यसका साथै एक हजारमा टिकट काट्नेले सोही रकमबाट प्रतियोगिता अवधीभर खेल हेर्न पाउनेछन् । कार्यक्रमको संचालन महासचिव चन्द्रकान्त पोख्रेलले गरेका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१ आइतबार ००:००  ८ : ०८ बजे