६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

२–२ को बराबरी खेल्दै नेपाल र म्यानमारले अंक बाँडे



काठमाण्डौ ।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमारले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चारै गोल पहिलो हाफमा भयो। नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ र सविता रानामगरले समान एक–एक गोल गरे। म्यानमार शीर्ष र नेपाल दोस्रो रहे। बुधबार हुने फाइनल खेलमा नेपाल र म्यानमार नै भिड्नेछन्।

यसअघि नेपालले किर्गिस्तान र लेबनानबिरुद्द समान १–० को जित दर्ता गरेको थियो। यता म्यानमारले लेबनानलाई ३–१ र कीर्गिस्तानलाई ५–० ले पराजित गरेको हो।

नेपाल र म्यानमारबीच यो पाँचौं भेट हो। यसअघि नेपालले तीन हार बेहोर्दा एक बराबरीको नतिजा निस्केको थियो।

यसअघि खेलको छैटौं मिनेटमा मयत खिनको गोलमार्फत म्यानमारले अग्रता लिएको थियो। उनले सेकेन्ड बार च्यापेर प्रहार गरेको फ्रिकिक सिधै गोल भयो। तेस्रो खेलमा अवसर पाएकी नेपाली गोलकिपर अन्जना रानमगरले बचाउने कुनै अवसर नै पाइनन्।

पाँच मिनेटपछि नै नेपालले बराबरी गोल फर्कायो। सावित्रा भण्डारीले चतुर्याईपूर्वक निकालेको पासलाई सिक्स यार्ड बक्समा अनमार्क रहेकी सविता रानमगरले वान टचमै बराबरी गोल गरेकी हुन्।

तर, मे एचटेट लुले १७औं मिनेटमा म्यानमारलाई २–१ को अग्रता दिलाइन्। नेपाली डिफेन्डर गीता रानाले क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै लुले उत्कृष्ट गोल गर्दै अग्रता लिइन्।

सावित्राले ४०औं मिनेटमा गोल गर्दा नेपाल २–२ को बराबरीमा आयो। उनले प्रीति राईको पासलाई सदुपयोग गरिन्। त्यसअघि सरू लिम्बूले प्रितीलाई चलाखीपूर्ण पास निकालेको थिइन्।

प्रकाशित मिति : ११ फाल्गुन २०८१ आइतबार ००:००  ८ : ५४ बजे