२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

खुत्खुते सामुदायिक वनद्धारा ३ महिने निःशुल्क कम्प्युटर तालिम सञ्चालन



बाबुराम रायमाझी, जितपुर ।

वाणगंगा नगरपालिका–९ भर्लाबास स्थित खुत्खुते सामुदायिक बनको सहयोग तथा डिजिटल कम्प्युटर पसल, तौलिहवाको प्राविधिक सहयोगमा ३ महिने निःशुल्क कम्प्युटर तालिम सुरु गरिएको छ।उक्त तालिमको उद्घाटन वडाध्यक्ष कमल पौडेलले गरेका थिए। उद्घाटन कार्यक्रममा वडाध्यक्ष पौडेलले खुत्खुते सामुदायिक बनले वडामै अनुकरणीय कार्य गरेको भन्दै धन्यवाद व्यक्त गरे। उनले हालको युग प्रविधिको भएको उल्लेख गर्दै सिकाइलाई व्यवहारिक रूपमा उपयोग गरी जीविकोपार्जनमा टेवा पुर्‍याउनु आवश्यक रहेको बताए।

कार्यक्रममा खुत्खुते सामुदायिक बनका अध्यक्ष भिम बहादुर पुनले सामुदायिक बनले ूएक बन, एक उद्यमू अवधारणाअनुसार दुना(टपरी उद्योग सञ्चालन गरिरहेको जानकारी दिए। उनले सामुदायिक बन मार्फत सिर्जनात्मक र रचनात्मक कार्य गर्दै आएको उल्लेख गर्दै, यस कम्प्युटर तालिम पनि त्यसको निरन्तरता स्वरूप ल्याइएको बताए।

कार्यक्रममा प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष बाबुराम रायमाझी, सिद्धार्थ सामाजिक विकास केन्द्रका सहजकर्ता भावना सेन, प्रशिक्षक निरज बन्जाडे लगायतका व्यक्तित्वहरूले कार्यक्रम सफलताको शुभकामना दिएका थिए।

कार्यक्रम खुत्खुते सामुदायिक बनका अध्यक्ष भिम बहादुर पुनको अध्यक्षता तथा वडाध्यक्ष कमल पौडेलको प्रमुख आतिथ्यता रहेको थियो कार्यक्रम शकुन्तला आचार्यको स्वागत रहेको थियो भने पोम प्रसाद अर्यालको संचालन रहेकोे थियो ।

कुल २५ जना सहभागीहरू तालिममा सहभागी भएका छन्। तालिममा कम्प्युटरको आधारभूत ज्ञानदेखि व्यावसायिक प्रयोगसम्मका विभिन्न विषयहरू समेटिने जनाइएको छ। आयोजकले तालिमपछि सहभागीहरूलाई रोजगारी वा उद्यमशीलतामा जोड्ने लक्ष्य राखेको बताए ।

यस तालिमले स्थानीय युवाहरूलाई प्रविधिमैत्री बनाउँदै, उनीहरूको भविष्यमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। सामुदायिक बनले यसअघि पनि स्थानीयस्तरमा विभिन्न सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन गरी समाजमा योगदान पुर्‍याउँदै आएको छ।

तालिम सिकाइ मात्र नभई जीविकोपार्जनका अवसरहरू सिर्जना गर्ने अभियान भएकाले सहभागीहरू उत्साहित देखिएका छन्। आयोजकले तालिमपछि सहभागीहरूलाई थप अवसरहरू प्रदान गर्ने योजना रहेको जानकारी दिएका छन्।

प्रकाशित मिति : १२ फाल्गुन २०८१ सोमबार ००:००  ६ : ५६ बजे