कपिलवस्तु ।
दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगितामा संकटा फुटवल क्लवले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कपिलवस्तु ११ लाई हराउँदै संकटाले विजयी सुरुवात गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलमा संकटाले दोस्रो हाफमा थप गरिएको २ मिनेटमा गोल गर्दै कपिलवस्तुलाई १–० गोलले पराजित गरेको हो । निकैं रोमाञ्चक भएको खेलमा उत्तम शाहीले गोल गर्दै संकटालाई जित दिलाए ।
संकटाको जितमा नायक बनेका उत्तम नै ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
उत्तमलाई युवा व्यवसायी तथा समाजसेवी आशिष शर्माले नगदसहित ट्रफी प्रदान गरेका थिए ।
पराजित भएसंगै कपिलवस्तु ११ प्रतियोगिताबाट बाहिरिएको छ भने संकटा सेमिफाईनलमा प्रवेश गरेको छ ।
विहिबार दिउँसो ३ बजे मछिन्द्र एफसी र हिमालयन शेर्पाबीच खेल हुने प्रतियोगिताको आयोजक संस्था जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका हुन् । सो क्रममा उनले प्रदेश सरकार खेल क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउन तयार रहेको बताए । उनले यस बुद्धरंगशालाको स्तरोन्नति गर्न पालिकासंग प्रदेश सरकारले सहकार्य गर्ने प्रतिवद्धता जनाए ।
प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतिक्रिया