६ असार २०८३, शनिबार | Sat Jun 20 2026

चैतदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन हुने



काठमाण्डौ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदो चैत १९ देखि रातको समयमा पनि बन्द नहुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटर नजिकको काम पूरा हुनै लागेपछि विमानस्थल राति १२ बजेसम्म खुला गरेर दैनिक १८ घण्टा सञ्चालन हुन लागेको जानकारी दिएको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएको मुख्य जटिल काम सकिन लागेपछि विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन गर्ने तयारीमा रहेको बताउनु भयो ।

धावनमार्गको क्षमता अभिवृद्धिका लागि काम शुरु गर्नुअघि विमानस्थल बिहान ६ बजेदेखि राति ३ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।

यसअघि राति १२ बजेदेखि ३ बजेसम्म उडान गर्दै आएका कतार एअरवेज, फ्लाई दुबई र नेपाल वायुसेवा निगमका उडान राति १२ बजेपहिले नै गराएर विमानस्थल दैनिक १८ घण्टा सञ्चालन गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानस्थलको धावनमार्गको बिच भागदेखि ७५ मिटरभित्रको काम गर्न उडान बन्द गर्नुपर्ने नियम अनुसार अहिले विमानस्थल बिहान ७ बजे खुलेर राति ११ बजे बन्द हुँदै आएको छ ।

विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सहज हुनुका साथै हवाई ट्राफिक व्यवस्थापनमा समेत सहजता थपिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१ शुक्रबार ००:००  १ : ३८ बजे