कपिलवस्तु ।
बुटवल–गोरुसिंगे सडकखण्ड विस्तार आयोजना समयमै सम्पन्न गर्न सरोकारवाला निकायले सुझाव दिएका छन् ।योजनाको प्रगति, चुनौती र आगामी योजनाबारे जिल्ला प्रशासन कार्यालय, तौलिहवा कपिलवस्तुमा आज आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रमा उक्त सुझाव दिएका छन्। कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले समयमै निर्माण कार्य सम्पन्न गरी उदाहरण पेस गर्न आग्रह गरे । उनले सबै सरोकारवालाहरूको सक्रिय सहभागिता र समन्वय आवश्यक रहेको र यस्मा स्थानीय सरकारको ठुलो भूमिका रहने बताएका छन्।
उक्त अन्तर्क्रिया कार्यक्रममा योजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले हालसम्मको निर्माण प्रगतिबारे जानकारी दिँदै आगामी कार्ययोजनाका विषयमा प्रकाश पारेकी छिन् । न्यौपानेका अनुसार निर्माणकार्य निर्धारित मितिभित्र सम्पन्न गर्न आवश्यक समन्वय र स्रोतसाधन परिचालन भइरहेको बताउँदै उनले हालसम्म २।२१ प्रतिशत प्रगति भएको र निर्माणकार्यलाई तीव्रता दिन सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको बताउँदै हालसम्म भएका उपलब्धिहरू प्रस्तुत गर्दै आगामी दिनमा कार्यहरू द्रुत गतिमा अघि बढाइने र निर्माणकार्य समयमा नै सम्पन्न गर्नका लागि प्राविधिक जनशक्ति, आवश्यक स्रोतसाधन तथा अन्य पूर्वाधारको व्यवस्थापन भइरहेको र योजनाअन्तर्गतका कार्यहरूलाई प्रभावकारी बनाउन सम्बन्धित सरोकारवाला निकायहरूसँग सहकार्य गरी अघि बढ्ने बताइन् ।
उक्त छलफलमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी, नवराज लामिछाने, जिल्ला समन्य प्रमुख बाबुराम आचार्य बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठ, वाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्याल वडाध्यक्षहरू, जिल्लाका राजनीतिक दलहरू, सञ्चारकर्मी, सुरक्षा निकाय र विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो । योजना समयमै सम्पन्न गर्न सरकारी निकाय, ठेकेदार तथा स्थानीय सरोकारवालाहरूको निरन्तर सहयोग आवश्यक रहेको कार्यक्रमा बताइएको छ।
उक्त आयोजना एसियास्तरको राजमार्गका रूपमा विस्तार भइरहेको बुटवल–गोरुसिंगे सडकखण्ड यस क्षेत्रको महत्त्वपूर्ण आयोजना हो । पूर्व–पश्चिम महेन्द्र राजमार्गको प्रमुख खण्डका रूपमा यो महत्त्वपूर्ण आयोजनाको नेतृत्व युवा इन्जिनियर कुशलता न्यौपानेले गरेकी छिन् । युवा जोस र उत्साहित इन्जिनियर कुशलताले बुटवल–गोरुसिंगे सडक आयोजनामा आफ्नो कुशल व्यवस्थापन र प्रविधिको प्रयोगमार्फत आधुनिक सडक निर्माणकार्यलाई तीव्रता दिएको र ठोस योजनासहितको उनको कार्यशैलीले निर्माण प्रक्रियालाई प्रभावकारी बनाइरहेको पाएको छ ।
राजमार्ग निर्माण भएको करिब ६२ वर्षपछि उनकै नेतृत्वमा यो प्रमुख खण्डको विस्तार भइरहेको छ । यस खण्डको डिजाइन एसियास्तरका प्रमुख राजमार्गसरहको गरिएको बताएको छ । अहिले ५० किलोमिटरको पहिलो खण्डमा धमाधम काम भइरहेको छ । यो यस्तो आयोजना हो जहाँ वनले कुनै पनि आयोजनामा सबैभन्दा छिटो रुख कटानलगायतको स्वीकृति दिएको छ । हालसम्म तीन हजार ३३४ रुखमध्ये तीन हजार १८९ रूख कटान भइसकेका छन् भने पुल निर्माणकार्य अघि बढिरहेको र चार किलोमिटर क्षेत्रमा क्लियरिङ कार्य सम्पन्न भएको बताएको छ । यात्रुहरूलाई सास्ती नहुने गरी गरी बिचको सडकलाई नभत्काएर काम गरिरहेको र धुलो, हिलो र आवागमनमै असहजता उत्पन्न नहुने गरी निर्माण काम भइरहेको बताएको छ ।
इन्जिनियर कुशलताको नेतृत्वमा यो खण्डमा अहिले व्यवस्थित निर्माण कार्य चलिरहेको छ । सुरक्षा प्रबन्धका विषयमा संवेदनशीलता अपनाइएको छ । रुख कटानका वेला वा पुलको निर्माणकार्यका वेला स्थानीय, मजदुर, प्राविधिक र वन्यजन्तुसहितका प्राणीसमेत सबैको सुरक्षालाई विशेष ख्याल गरिएको बताएको छ। फ्लाई ओभरका पुल, अन्डरपास र ओभरपासमा भेहिकल र यात्रु पास पुलको नौलो डिजाइन गरिएको बताइएको छ ।
सडक विस्तारका लागि दुई खण्डमा गरी १३ अर्ब ५५ करोड ६५ लाख ९६ हजार ४४१ रुपैयाँको ठेक्का सम्झौता भई तीन वर्षभित्र योजना सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप र आशिष निर्माण सेवा नेपाल जेभीसँग सम्झौता भई काम सुरु भएको छ । यो आयोजनाको चालू आवमै करिब चार अर्ब बजेट विनियोजन भई काम भइरहेको बताएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले बुटवल–गोरुसिंगे सडक स्तरोन्नति कार्यलाई तीव्रता दिएको छ । उक्त योजनाअन्तर्गत ५० किलोमिटर लामो सडकलाई सहरी क्षेत्रमा ६ लेन र ग्रामीण क्षेत्रमा चार लेनमा स्तरोन्नति गरिने बताएको छ । जसअन्तर्गत विश्व बैंकको ९२ प्रतिशत र नेपाल सरकारको आठ प्रतिशत लगानी रहेको यस योजनाले पूर्व–पश्चिम राजमार्गमा यातायात प्रवाह सुधार गर्ने लक्ष्य लिएको बताएको छ ।
प्रतिक्रिया