बाबुराम रायमाझी, भलवाड ।
‘रुख रोपौं, वन जोगाऔं’ भन्ने मूल नाराका साथ कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समूहले ‘एक वन, एक उद्यम’ नीतिअनुसार बिजयसालको काठबाट तयार पारिएका भाँडाकुँडा (गिलास) को उद्घाटन सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि तथा डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत इस्वरी प्रसाद पौडेलले एक भव्य समारोहका बीच गिलासको उद्घाटन गर्नु भएको थियो ।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि पौडेलले बिजयसालबाट निर्मित गिलास मानव स्वास्थ्यका लागि लाभदायक रहेको उल्लेख गर्दै यसको बजारमा कुनै समस्या नहुने धारणा व्यक्त गर्नुभयो।
साथै, उनले यस्तो नविनतम् पहललाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै वन उपभोक्ता समूहलाई आफ्नो कार्यालयबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
त्यस्तै, वडा अध्यक्ष कमल पौडेलले सामुदायिक वनले वडा कार्यालयसँग समन्वय गरी राम्रो काम गरिरहेको बताउँदै भविष्यमा पनि साझेदारी गरेर सहकार्यलाई अझ सशक्त बनाइने प्रतिवद्धता जनाउनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका सदस्य बाबुराम रायमाझी, सामुदायिक वनका प्रतिनिधि निलकुमार श्रेष्ठ, लुम्बिनी प्रदेश वैज्ञानिक वनका अध्यक्ष दीपक कुमार थापा लगायतका वक्ताहरूले कोइलीचौर सामुदायिक वनको कामको प्रशंसा गरेका थिए ।साथै उनीहरूले यस्ता उद्यमशील कार्यलाई निरन्तरता दिँदै जानुपर्नेमा जोड दिँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम कोइलीचौर सामुदायिक वनका अध्यक्ष कुन्तामणि भुसालको अध्यक्षता तथा उपाध्यक्ष देब बहादुर श्रीस मगरलको स्वागत रहेको थियो भने सचिव सुस्मा क्षेत्रीको सञ्चालनमा भएको थियो ।
प्रतिक्रिया