कपिलवस्तु ।
बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । उक्त बैठक सोमबार विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो ।
१२औं कार्यपालिका बैठकले अघिल्लो कार्यापालिका बैठकका निर्णयहरुको समिक्षा गरेको नगरप्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकले कार्यपालिकाका अघिल्ला निर्णयहरुको प्रभावकारी रुपमा कार्यान्वयन भएको निष्कर्ष निकालेको छ । बैठकले स्थानीय विकास पूर्वाधार सहयोग कार्यक्रमलाई स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिए । बैठकले नगरपालिकाका प्रशासन शाखा प्रमुख केशवराज भट्टराई फोकल पर्सन रहने गरि सरसफाई ईकाई गठन गरेको छ ।
प्रवक्ता पौडेलका अनुसार उक्त ईकाईको सदस्यहरुमा ईन्जिनियर सुनिल श्रेष्ठ, दिपक पाण्डे र कल्पना बुढाथोकी रहेका छन् । आगामी चैत्र २१ गते बाणगंगा नगरपालिका ११ ओदारीमा एकिकृत घुम्ति शिविर संचालन गर्ने बैठकले निर्णय गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकले आगामी चैत्र २३ गते बाणगंगा नगरपालिका ७ वनगाईमा रहेको जनचेतना आधारभूत विद्यालयमा नगरको दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने, चैत्र २५ गते नगरपालिकामै वृहत सरसफाई सम्मेलन गर्ने निर्णय गरेको छ ।
उनले बाणगंगा नगरपालिका पूर्ण सरसफाई नगर बन्ने अभियानमा रहेको बताए । उनका अनुसार उक्त अभियानको सुरुवात वडा नं।२ बाट सुरु भएर क्रमश महेन्द्र राजमार्गसंग जोडिएका वडाहरु १, ४, ८ र ७ मा अभियान संचालन हुदैं पहिलो चरणमा यी वडाहरु पूर्ण सरसफाई वडा घोषणा हुुने छन् । बैठकले नगरपालिकाको दोस्रो चौमासिक समिक्षा कार्यक्रम आगामी चैत्र २८ गते नगरपालिकाको सभाहलमा गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा नगरप्रमुख चक्रपाणी अर्यालले चालु आर्थिक बर्षका योजनाहरु समयमै सम्पन्न गर्ने दिशातर्फ अघि बढ्न जनप्रतिनिधि र कर्मचारीहरुलाई निर्देशन दिएका थिए । उनले पूर्ण सरसफाई नगर बनाउने अभियानमा सबै सरोकारवालाहरुसंग हातेमालो गर्दै अघि बढ्न नगर प्रतिवद्ध रहेको बताए । उनले नगरको यस अभियानलाई सफल बनाउन सबैलाई आह्वान समेत गरेका छन् ।
बैठकमा समसामयिक विषयमा छलफल समेत भएको थियो ।
प्रतिक्रिया