काठमाडौं ।
माध्यमिक शिक्षा परीक्षा (एसइईका) बिहीबार शुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ।
परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ।
यो वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ। गत वर्षको परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। यो वर्षको परीक्षामा ४९ हजार २८६ परीक्षार्थी बढेका छन्।
परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने व्यवस्था गरिएको छ। परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ।
यो वर्षको एसइई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ।
यसैबीच यस वर्ष कपिलवस्तुबाट नियमित र ग्रेडवृद्धि गरी झन्डै ९ हजार ४६१ जनाले एसइई परीक्षामा भाग लिने बताइएको छ। कार्यालयले विक्रम संवत् २०७८ र २०७९ सालका ग्रेडवृद्धितर्फका सबै परीक्षार्थीहरूको परीक्षा केन्द्र वेस्ट पोइन्ट इबो स्कुल अदालत टोल, तौलिहवामा कायम गरेको बताएको छ। यसैबिच, साधारणतर्फका २०८० सालका ग्रेडवृद्धितर्फका सबै परीक्षार्थीहरूको परीक्षा केन्द्र २०८१ सालका नियमित विद्यार्थीहरू रहेको परीक्षा केन्द्रमै कायम गरिएको छ।












प्रतिक्रिया