२८ माघ २०८२, बुधबार | Thu Feb 12 2026

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले लोकतन्त्र सुदृढ हुन्छ : प्रदेश सांसद न्यौपाने



लुम्बिनी प्रदेश सांसद गिरधारीलाल न्यौपानेले प्रेस स्वतन्त्रताको रक्षाविना लोकतन्त्र जिवित रहन नसक्ने बताएका छन् । शनिबार कपिलवस्तुको बुद्धभूमि नगरपालिका- २ बड्हरामा प्रेस चौतारी लुम्बिनी प्रदेशको आयोजना तथा प्रेस चौतारी कपिलवस्तुको संयोजनमा भएको प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘विश्व प्रेस स्वतन्त्रता दिवस प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, प्रवद्र्धन र सरोकारका विषयहरूमा गम्भिर बहस गर्न प्रेरित गर्ने महत्त्वपूर्ण अवसर हो । प्रेस स्वतन्त्रताको रक्षाविना लोकतन्त्र जिवित रहने कल्पना पनि गर्न सकिदैन्,’ उनले भने ।

कार्यक्रमकाे प्रमुख बक्ता समेत रहेका उनले मिडियाप्रतिको जनविश्वासलाई थप वृद्धि गर्न पत्रकार जगत गम्भिर हुन आवश्यक रहेको बताए । उनले कोरोना महामारीपछि संचार क्षेत्रमा देखिएका समस्याहरु औल्याएर तीनै तहका सरकारको पहलमा समाधान गर्नुपर्नेमा जोड दिए ।

उनले निति र नेतृत्वको रक्षाका निम्ति प्रेस चौतारी थप सशक्त रुपमा एकबद्ध हुनुपर्ने बताए । ‘नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ,’ उनले भने, ‘प्रेस स्वतन्त्रताको प्रत्याभूति संविधानको आत्मा हो, जसको रक्षा गर्नु सबैको दायित्व हो ।’

प्रेस स्वतन्त्रता केवल पत्रकारको हक मात्र नभई, सुसूचित हुन पाउने जनताको पनि हक भएको उनको भनाइ छ । उनले स्वतन्त्र प्रेसको माध्यमबाट मात्र समाजमा सत्य, जवाफदेहिता र सुशासन स्थापित हुने बताए ।

प्रकाशित मिति : २० बैशाख २०८२ शनिबार ००:००  १० : १२ बजे