३२ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025

बैदेशिक रोजगारीबाट फर्केका युवालाई प्लम्बिङ तालिम, स्वरोजगारमा जाेड



चारनम्बर । वाणगंगा नगरपालिका, कपिलवस्तुले वैदेशिक रोजगारीबाट फर्केका २३ जना युवाहरुलाई ६५ दिने प्लम्बिङ तालिम प्रदान गरी दक्ष जनशक्ति उत्पादन गरेको छ। सीटीईभीटी (सिटिभिटिई) बाट मान्यता प्राप्त उक्त तालिम पश्चात सहभागीहरू प्रमाणित दक्ष जनशक्ति रूपमा तयार भएकाे नगरपालिकाले जनाएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि वाणगंगा नगर प्रमुख चक्रपाणी अर्यालले तालिम सफलतापूर्वक सम्पन्न गरेका युवाहरुलाई बधाई दिँदै उनीहरूलाई स्वरोजगार बन्न शुभकामना व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “विदेशमा श्रम बेचेर दुःख पाएको अनुभवले तपाईंहरूमा अब आफ्नै देशमै काम गर्ने आत्मविश्वास र क्षमता जगाएको छ। स्थानीय स्तरमै थुप्रै अवसरहरू छन्, तिनै अवसरहरू सदुपयोग गरी आत्मनिर्भर बन्ने समय आएको छ।”

नगर प्रमुख अर्यालले युवाहरूलाई स्वरोजगारका लागि सहकारी तथा वित्तीय संस्थाको सहायताबाट लगानी गर्न सकिने र नगरपालिका साक्षी भएर सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो। साथै उहाँले बजारमा प्राविधिक जनशक्तिको अभाव रहेको भन्दै युवाहरुलाई सीपको प्रयोग गरेर आत्मनिर्भर मात्र नभई अन्यलाई पनि रोजगारी दिन सक्ने सोचका साथ अघि बढ्न आग्रह गर्नुभयो। नगर प्रमुख अर्यालले युवाहरूलाई उत्साहित गर्दै भन्नुभयो, “काम गर्ने व्यक्तिलाई वाणगंगा नगरपालिकाले सधैँ सम्मान गर्छ। तपाईंहरू नै नगरको अमूल्य सम्पत्ति हो। कामप्रतिको लगाव सकारात्मक र रचनात्मक रहोस् भन्ने हाम्रो अपेक्षा हो।”

उहाँले पछिल्लो समय युवाहरूमा देखिएको निराशावादी सोचप्रति ध्यान आकृष्ट गराउँदै भन्नुभयाे , “आजभोलि ‘केही भएन’, ‘जनप्रतिनिधिले केही गरेनन्’, ‘देश बनेन’ भन्ने नकारात्मक धारणा धेरैको सोचमा छ, तर त्यो यथार्थ होइन। हिजोको अवस्थासँग तुलना गर्दा आज हामीले थुप्रै सकारात्मक परिवर्तनहरू देखिरहेका छौं। यी परिवर्तनहरूको प्रत्यक्ष साक्षी तपाईंहरू स्वयं हुनुहुन्छ।”

कार्यक्रममा शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले तालिमबाट प्राप्त सीपलाई दैनिक जीवनमा प्रयोग गर्न र प्रमाणपत्रलाई श्रमसँग जोडेर स्वरोजगार बन्न आवश्यक रहेको बताए।

महिला तथा बालबालिका शाखा प्रमुख शुशीला पन्त, राेजगार संयाेजक गाेमा घिमिरे, पत्रकार लगाएत अन्य अतिथि तथा सरोकारवालाहरूको उपस्थिति रहेको कार्यक्रममा माइक्रोटेक एकेडेमीका प्रमुख अनिल अधिकारीले सिटिभिटिईबाट मान्यता प्राप्त तालिमपछि देश वा विदेश जहाँसुकै पनि काम गर्न सक्ने सक्षम जनशक्ति उत्पादन भएको बताउनुभयाे।

तालिम वाणगंगा नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को सिपमूलक कार्यक्रम अन्तर्गत सुरक्षित आप्रवासन (SaMi) कार्यक्रमको समन्वयमा माइक्रोटेक ट्रेनिङ एकेडेमी प्रा.लि., बुद्धभूमिको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो।

प्रकाशित मिति : ३ जेष्ठ २०८२ शुक्रबार ००:००  ३ : ५९ बजे