२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

बाणगंगा खोलाको उत्खननमा राजमो कपिलवस्तुको चासो, प्रजिअलाई बुझायो ज्ञापनपत्र



मायादेवी अनलाइन, बाणगंगा ।
पर्यटकीय, धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिएको बाणगंगा खोला अहिले अन्धाधुन्ध र अवैध उत्खननको चपेटामा परेको भन्दै यसलाई तत्काल रोक्न माग गर्दै राष्ट्रिय जनमोर्चा कपिलवस्तुले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङलाई ज्ञापन पत्र बुझाएको छ ।

राष्ट्रिय जनमोर्चाले बुझाएको ज्ञापन पत्रमा भनिएको छ, हाल बाणगंगा खोलामा भएको अवैध उत्खनन र अन्धाधुन्ध दोहनका कारण श्रृगिघाट, प्रगतिचारमौजा सिंचाई आयोजना, लक्ष्मणघाट पुल, बाणगंगा सिंचाई आयोजना जस्ता प्रमुख संरचना जोखिममा छन्। त्यस्तै, लौरिबगिया, बैकण्ठपुर, शिसेनीया, धनेशपुर, बनगाई, लक्ष्मणघाट, भगलापुर, बनकसिया, कुस्मा, जर्लैया, सगरहवा, रुधौला, तिलौरी र तिलौराकोट जस्ता बस्तीहरूमा बाढी, कटान र भूमिस्खलनको भय बढ्दो छ, यसलाई रोकौं ।

सिँचाइका संरचनाहरू भत्किने अवस्थामा पुगेको भन्दै उक्त पार्टीले चिन्ता प्रकट गरेको छ ।

अनियन्त्रित उत्खननकै कारण खानेपानीका स्रोतहरू सुक्न थालेका छन्, इनार र ट्युबेलहरूमा पानीको सतह घट्दो छ, र वातावरणीय सन्तुलन बिग्रँदै गएको छ। जैविक विविधतामा समेत संकट उत्पन्न भएको छ, पार्टीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“प्रशासन, जनप्रतिनिधि र ठेकेदार समूहबीचको मिलेमतोबिना यस्तो अवैध कार्य सम्भव छैन,” राष्ट्रिय जनमोर्चाले स्पष्ट पारेको छ ।

पार्टीले यो प्रकारको गैरकानुनी कार्य तत्काल बन्द गराउन र दोषीमाथि कडा कारबाही गर्न माग गर्दै आएको जिल्लाका अध्यक्ष राम प्रसाद बेल्वासेको हस्तलिखित ज्ञापन पत्रमा भनिएको छ । हाल बाणगंगा नदी र अन्य पालिकाभित्र ठेक्का मार्फत भइरहेको अवैध दोहनप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

राष्ट्रिय जनमोर्चाले सरकार र प्रशासनको मौनतालाई जनभावना र जनमतको घोर अपमान भन्दै कडा आपत्ति जनाएको छ । स्थानीय जनतालाई समेत भ्रष्टाचारविरुद्ध आवाज उठाउन आह्वान गरेको छ । जनमोर्चाले तत्काल अवैध कार्य बन्द गर्न, घटनाको स्वतन्त्र छानविन गर्न, भविश्यमा यस्तो प्रकारको गैह कानुनी उत्खनन् रोक्न स्थायी व्यवस्था माग गरेको छ ।

साथै मागहरु तत्काल सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिएको छ । ज्ञापन पत्र बुझदै प्रजिअ तामाङले राष्ट्रिय जनमोर्चाले महत्वपूर्ण विषय उठान गरेको भन्दै सबै नगरपालिकाहरुलाई बोद्धार्थ पठाएको र भोलिबाटै अवैध क्षेत्रहरुमा कडा निगरानी हुने बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२ आइतबार ००:००  ५ : ०९ बजे