१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

अनियमितता गरेको प्रमाणित भए राजनीति नै छोड्छुः गृहमन्त्री लेखक



काठमाडौँ ।
गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता गरेको प्रमाणित गरे राजनीति नै छोड्ने बताएका छन्।

सिंहदरबारमा शनिवार साँझ सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले आफ्नो विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढंगबाट झूटो प्रचारबाजी भइरहेको बताए। उनले त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै नभई आफ्नो सार्वजनिक र राजनीतिक जीवनमा एउटा मात्रै आर्थिक अनियमितता गरेको कसैले प्रमाणित गरे पदबाट मात्र नभई राजनीति नै छोड्ने बताए।

आफूविरुद्ध प्रश्न उठेकाले १३ गतेको प्रतिनिधसभामा पूरा जानकारी गराउने बताए। गृह मन्त्रालय लाखौँको संख्यामा कर्मचारी रहेको र कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीहरूले राजीनामा दिँदै जान सम्भव नरहेको स्पष्ट पारे।

गृहमन्त्री लेखकले भने, ‘मेरा विरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगबाट झूटो प्रचारबाजी भइरहेको छ। त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन। मेरो सार्वजनिक जीवनमा, राजनीतिक जीवनमा एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु।’

गृहमन्त्री लेखकले आफ्ना विरुद्ध राजनीतिक, नियोजित, षड्यन्त्रमूलक ढंगबाट झूटो प्रचारबाजी भइरहेको तर्क गरे।

प्रकाशित मिति : १० जेष्ठ २०८२ शनिबार ००:००  ९ : ०१ बजे