३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

नेतृत्व छान्न प्यानलसहित मैदानमा युवा संघ



पोखरा ।
१ जेठ २०४७ मा युवा संघ गठन गरेर संयोजक बनेका केपी शर्मा ओली अहिले नेकपा एमालेको अध्यक्ष तथा देशकै प्रधानमन्त्री छन् ।

युवा संघको नेतृत्व गरेर पार्टी राजनीतिमा प्रवेश गरेकाहरू चर्चा र अवसरको केन्द्रमा मात्रै छैनन्, संघमा नेतृत्व कसलाई सुम्पिने भनेर कसरतसमेत गर्दै आएका छन् ।

केशव स्थापित, गोकर्ण विष्ट, महेश बस्नेत, राजीव पहारी, निरुदेवी पाललगायत युवा संघमा नेतृत्व गरेका नेताहरू सधैं चर्चामा रहे भने त्यसरी अवसरसमेत पाए ।

युवा संघको नेतृत्वमा को आउँछ भन्ने कुराले पूर्वअध्यक्षहरूको प्रभाव र पार्टीको राजनीतिलाईसमेत अर्थ राख्ने भएकाले पूर्वअध्यक्षसहित पदाधिकारीलेसमेत महाधिवेशनमा आफ्ना मान्छे बनाउन कसरत गर्ने गरेका छन् ।

संघको संस्थापक अध्यक्ष ओलीसहित नेताहरूको दबाब र प्रभावको सामना गर्दै प्यानलसहित प्रतिस्पर्धा गर्न नेता र प्रतिनिधि मैदानमा उत्रिएका छन् । ओलीले क्षितिज थेबेलाई सर्वसम्मत बनाउन दबाब दिएको नेताहरूले बैठकहरूमा प्रस्ट बताउने गरेका थिए ।

महासचिव सुमन पुरीले त्यसलाई अस्वीकार गर्दा देशभरका प्रतिनिधिहरूले आफ्नो नेतृत्व छान्ने अवसर पाएका हुन् । तर, जुनसुकै बेला पनि नेताहरूले एक जनाको नाममा निर्णय गर्न सक्ने, क्षितिजलाई सर्वसम्मत बनाउन रातभरमा ओली आफैंले निर्देशन दिनसक्ने भयसमेत प्रतिनिधिहरूमा देखिएको छ ।

नेतृत्वको निर्देशन र आदेशविपरीत प्रतिस्पर्धामा जाँदा पछि अवसरबाटै बञ्चित गर्ने, विभिन्न ठाउँमा निषेधै गर्नेसम्मका विगतका कारण पनि प्रतिनिधिहरू त्रसित देखिएका छन् । तर, ओलीले थेबेलाई नै दोहोर्‍याउन दबाब दिँदा एमालेभित्र आफ्नो प्रभाव बढाइरहेकी र अबको नेतृत्वको रूपमासमेत हेरिएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथले सुमनको समूह उत्साहित बनेको बनेको छ ।

क्षितिजलाई सर्वसम्मत बनाउन महेश बस्नेत, भानुभक्त ढकाल, राजीव पहारीलगायतले कसरत गरेको भएपछि असफल भएका हुन् । वर्तमान अध्यक्ष क्षितिज र महासचिव सुमन पुरी अबको नेतृत्व हातमात्र प्यानलैसहित प्रतिस्पर्धाको मैदानमा प्रवेश गरेका छन् ।

शुक्रबारदेखि सर्वसम्मत गर्न दबाब बढाएका नेताहरूको प्रयासलाई असफल पार्दै दुवै जनाको प्यानलले आइतबार मनोनयन दर्ता गराएका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२ सोमबार ००:००  ७ : २२ बजे