३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

बाणगङ्गामा सामुदायिक ज्ञान महोत्सव कार्यक्रम सम्पन्न



बाणगङ्गा ।

पारिवारिक विकास योजनामा आधारित एक दिने सामुदायिक ज्ञान महोत्सव कार्यक्रम कपिलवस्तुको बाणगङ्गा नगरपालिका ७, गन्सवामा अाज सम्पन्न भएको छ। सिद्धार्थ सामाजिक विकास केन्द्र र स्ट्रोम फाउन्डेसनको साझेदारीमा सञ्चालित ‘बिलिफ कार्यक्रम’ अन्तर्गत आयोजना गरिएको सो महोत्सव विभिन्न ज्ञान, सीप र क्षमताको प्रदर्शनमार्फत समुदायमा थप अवसर सिर्जना गर्न र सिकाइ प्रवर्द्धन गर्न उद्देश्यका साथ सम्पन्न भएको हो।

बिलिफ कार्यक्रम लागू भएका वडामा क्रियाशील विभिन्न समूह, संरचना र क्षेत्रबाट सहभागी प्रतिनिधिहरूले आफ्ना अनुभव, सीप र सफलता प्रस्तुत गरेका थिए। सहभागीहरूले सिकाइको अनुभव मात्र होइन, समुदायमा देखिएको सकारात्मक परिवर्तनबारे समेत धारणा राखेका थिए।

मनोसामाजिक परामर्श, असल अभिभावकत्व र सामुदायिक सहकार्यका अनुभव सुनाउँदै लक्ष्मी गैरे, चन्द्रावती थारुले आफ्ना जीवनमा आएको परिवर्तन सुनाए । किशाेरी सम्वादकी आकृति बिकले सम्बाद कक्षाकाे माध्यमबाट आएको परिवर्तनले अाफनाे क्षमता विकास भएकाे सुनाइन् । झोला तथा बुटिक तालिम पश्चात समुदायमै व्यवसाय थालनी गरी आर्थिक रूपमा आत्मनिर्भर बन्दै गएको उल्लेख गरिन्।

त्यस्तै, सुश्मा जैसीले घरमै बसेर पनि धेरै सीप सिकेर व्यवसायिक रूपमा सफल भएकोमा संस्थालाई आभार व्यक्त गरिन्। कृषक यमलाल भुसालले बाली उत्पादन, बेर्ना, तरकारी खेती तथा प्रांगारिक मलको प्रयोगमार्फत राम्रो आम्दानी गर्न सफल भएको जानकारी दिए।

बाल विकास सहजकर्ता सरस्वती सारुले स्थानिय शैक्षिक सामग्री निर्माण तालीम पाएपछि बालबालिकाको पठनपाठन अझ प्रभावकारी र व्यवहारिक भएको बताइन्। शिक्षा, मनोसामाजिक परामर्श, जिबिकोपार्जनको क्षेत्रमा भएका प्रयासहरूलाई थप विस्तार गर्दै जाने बताइएको छ ।

वाणगंगा नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरीले समुदायको चौतर्फी विकासमा विलिफ कार्यक्रमले महत्वपूर्ण योगदान गरेको बताइन् । नगरपालिकाको सहकार्यमा संचालित कार्यक्रमले समुदायको शसक्तिकरण, क्षमता विकास र जीविकोपार्जनमा टेवा पुरयाएको उल्लेख गरिन् । कार्यक्रममा वाणगंगा नगरपालिका वडा सदस्य शारदा परियार, पार्वती सुनार र सैलेन्द्र बेल्बासे लगायतले समुदायको बिकास, शिक्षा, कृषि, आयआर्जन र पशुपालनजस्ता उद्यमद्वारा समुदायको विकासमा ठुलो टेवा पुर्‍याइरहेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै सिद्धार्थ सामाजिक विकास केन्द्रका निवर्तमान अध्यक्ष तेज प्रसाद आचार्यले समुदायको ज्ञान, सीप र आत्मविश्वास बढाउन महोत्सवले महत्त्वपूर्ण भूमिका खेलेको बताए। कार्यक्रम प्रबन्धक आरटी खानले सामुदायिक ज्ञान र सिकाइलाई अझ बृहत बनाउन सिर्जनात्मक योजना बनाइएको र आगामी दिनमा निरन्तरता दिने जानकारी दिए। कार्यक्रमको सहजीकरण जिबिकोपार्जन अधिकृत हिरा अर्यालले गरेकी थिइन् ।

समुदायमै आधारित स्रोत, सीप र अनुभव साझा गरिँदै अगाडि बढाइएको यस किसिमको कार्यक्रमले स्थानीय तहको समावेशी विकास र सहभागितामूलक नेतृत्व निर्माणमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२ बुधबार ००:००  ६ : ३७ बजे