दाङ ।
दाङको देउखुरीमा स्थानीयको घरमा दिउँसै चोरी गर्ने समूहका पाँच जना किशोर किशोरी पक्राउ परेका छन्।
पक्राउ पर्ने सबै राप्ती गाउँपालिका– ७ सिसहनिया गाउँका किशोर किशोरी छन्।
झन्डै दुई महिनाको अवधिमा उनीहरुले चार घरमा चोरी गरेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक पुस्करसिंह ऐरीले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेहरू १४ देखि १६ वर्ष उमेर समूहका छन् भने उनीहरू एकै विद्यालयमा पढ्छन्।
पक्राउ पर्नेमध्ये एक जना कक्षा ९ मा अध्ययनरत किशोर छन् भने बाँकी चारजना किशोरी ७ र ८ मा अध्यनरत रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
उनीहरु मिलेर घरमा कोही नभएको मौका छोपेर दिउँसै र बेलुकीको समयमा चोरी गर्ने गरेको खुलेको छ। गाउँमै रहेको स्केटिङ पार्कमा स्केटिङ खेल्न जाने र फर्किँदा मान्छे नभएको घरमा पसेर चोरी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। बढी जसो उनीहरुले बिदाको दिन चोरी गरेको पाइएको छ।
घरमा कोही नभएको मौका छोपी नगद र गरगहना चोरी गरेपछि उनीहरुले सस्तो मूल्यमा बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ। बेचेर आएको पैसाले रेष्टरेन्ट र होटेलहरुमा जाने र खाने गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक ऐरीले बताए।
पक्राउ परेकामध्ये एक किशोर र किशोरी प्रेमीसमेत हुन्। किशोरको प्रस्तावमा ती किशोरीले अन्य साथीहरुसँग चोरी गर्ने योजना बनाएको अनुसन्धानबाट खुल्न आएको प्रहरी निरीक्षक ऐरीले बताए। त्यो पैसाले स्थानीय रेष्टुरेन्ट तथा होटेलहरुमा गइ मःम तथा पिज्जाहरु खाएको बयान गरेका छन्। यो समुहले एकै दिन दुई जनाको घरमा चोरी गरेको पाइएको छ।
प्रहरी निरीक्षक एैरीका अनुसार जेठ १ गते दिउँसो राप्ती गाउँपालिका – ७ सिसहनियास्थित प्रिंका चौधरीको घरबाट एउटा मोबाइल र एउटा सुनको मंगलसुत्र चोरी भएको थियो। दिउँसोको समयमा घरका मानिसहरु खेतबारीमा गएको समयमा उनीहरु घर भित्र छिरेर चोरी गरेका थिए।
सोही दिन नै गाउँकै रबिलाल चौधरीको घरमा सोही समूहले चोरी गरेको थियो। चाँदीको पाउजु २ थान, औंठी २ थान, खुट्टामा लगाउने औंठी – २ थान, बाला – १ थान, मोबाइल – १ थान चोरी भयो।
तर, सोही दिन चोरी गर्दै गर्दा घरमा मानिस आइ पुगे। कलिलै उमेरका केटा केटी भएको हुँदा घर धनिले घर नजिकैबाट उनीहरू गएको पनि देखेका थिए। तर उनले चोरी गर्ने त्यही समूह हो भन्ने कुरा सोचेका थिएनन्।
प्रहरीमा निवेदन दिने क्रममा रविलालले सो कुरा लिखित रुपमा उल्लेख नगरे पनि आफू आउँदा घर नजिकै हिँडिरहेका किशोर किशोरीबारे प्रहरीलाई मौखिक रुपमा भनेका थिए।
त्यसपछि प्रहरीले उनीहरुमध्येका केहीलाई सोधपुछका लागि प्रहरीमा बोलाउँदा उनीहरुले समूहमा चोरी गर्ने गरेको तथ्य उजागर भएको प्रहरी निरीक्षक ऐरीले बताए।
यही समूहले नै वैशाख २९ गते माधव ज्ञवालीको घरबाट तीस हजार नगद चोरी गरेको खुलेको छ। प्रहरी निरीक्षक ऐरीका अनुसार प्रिंका चौधरीको घरबाट चोरी गरेको एउटा झन्डै ५० हजार पर्ने मंगलसुत्र यो समूहले स्थानीय ‘न्यूँ अर्घाखाँची सुन चाँदी पसल’मा सात हजारमा बिक्री गरेका थिए।
गौतमको घरमा चोरी गरेको मध्य मंगल सुत्र र चन्द्रमा १७ हजार पाँच सयमा गुल्मी जिल्लाको बलेटक्सार गाउँपालिका– ४ घर भइ दाङको लमहीमा ‘राहुल सुन चाँदी पसल’ सञ्चालन गर्दै आएका ३० वर्षीय देवबहादुर विकसँग बेचेका थिए।
चोरीका गरगहना खरिद गरेको आरोपमा पक्राउपछि प्रहरी हिरासतमा रहेका विकले उनीहरु मध्य केहीले आफ्नो पसलमा आइ आमा बिरामी हुनुहुन्छ भन्दै सुन किनीदिन आग्रह गरेकाले दया लागेर ती सुनका गरगहना किनेको प्रहरी समक्ष बयान गरेका छन्।
अरु सुनको गहनामा किशोर किशोरीले ५० हजार मागेपनि आफूले दया लागेर ८० हजार दिएको भनेर विकले बयान गरेको प्रहरी निरीक्षक ऐरीले बताए।
विकको पसलबाट ८ तोला १४ लाल ४ प्वाइन्ट विभिन्न तयारी गरगहना, २ तोला ६० लाल ८ प्वाइन्टका पुराना गरगहना र स्वरुप परिवर्तन गरेको तथा कुच्चाएको अवस्थामा बरामद, २ तोला ४२ लाल तामाको डण्डिसहितको पञ्चरत्न बाला, ९ तोला ९० लालको ममला र कपडासहितको सुनको छड्के तिलहरी बरामद भएको प्रहरीले जानकारी दिएको छ।
गौतमले फागुन २४ गते जाहेरी दिने क्रममा जम्मा ५ तोला सुनको बिलमात्रै प्रहरीमा पेश गरकी थिइन्। उनले दाबी भने २० तोला सुन हराएको गरेकी छन्। प्रहरीले उनको दाबीअनुसारको बिल मागेको छ।
विकले भने दुई तोला ६० लाख सुनका गरगहना मात्रै किशोर किशोरीबाट खरिद गरेको कुरा प्रहरीलाई बताएको छ।
पक्राउ परेका पाँच जना मध्य एक जना किशोरीको घरबाट रविलाल चौधरीको घरबाट चोरी भएका चाँदीका गरगहना बरामद भएको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया