३२ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025

बाणगंगा सगरहवा नाकाः जनप्रतिनिधि र कर्मचारीकै संरक्षणमा दोहन, प्रशासनको निर्देशन पनि अटेरी



मायादेवी अनलाइन, बाणगंगा ।
जनप्रतिनिधि र कर्मचारीकै संरक्षणमा सगरहवा नाकामा ठेकेदारको ब्रह्मलुटलाई छुट दिएको आरोप लागिरहेकै बेला कतिपय तथ्यले यसलाई पुष्टि गरेको छ ।

गत आइतबार ठेलीका ठेली नक्कली रसिद सहितको समाचार प्रकाशित भयो । बलियो आधार र तथ्य सहितको समाचार प्रकाशितपछि सोमबार नै जिल्ला प्रशासन कार्यालयले नेपाल प्रहरीलाई बोद्धार्थसहित ठेकेदारलाई आवश्यक कारबाही गर्न पत्राचार गर्‍यो । तर त्यसलाई नगरले औपचारिकता दिन मात्र ठेकेदारलाई २४ घण्टे अल्टिमेटमसहित जवाफ दिन पत्र काटेको पाइएको छ ।

ठेलीका ठेली नक्कली रसिद सहित समाचार प्रकाशित भएपनि कारबाही गर्नुको साटो लुटको धन्दामा छुट दिने ठेकेदार, संरक्षण गर्ने नगरका कर्मचारी र जनप्रतिनिधिहरुको प्रवृत्तिले सिंगो नगर नगरसमेत बदनाम हुँदै गएको छ ।

सेटिङको शक्ति कतिसम्म हुन्छ भन्ने दृष्टान्त कपिलवस्तुस्थित बाणगङ्गा खोलाको सगरहवा नाकाले पुष्टि गर्छ ।

‘यस नाकामा नदीजन्य पदार्थ निकासीको ठेक्काका मापदण्ड विपरितको उत्खननदेखि नक्कली बील छपाईसम्मका दर्जनौं अनियमितता देखिए पनि नियामयक निकाय मौन बसेको छ’, सगरहवाका एक गाउँलले भने ।

प्रमाणसहित समाचार प्रकाशन हुँदासम्म नाकामा लुट मच्चाइरहेको समय माता निर्माण सेवा माथि कारबाही हुन सकेको छैन ।
त्यतिमात्र होइन, अहिले पनि समय माता निर्माण सेवाले (आईइइ) नै नगरेको स्थानबाट रसिद नै नकाटी सोझै नजिकका सप्लायर्सलाई विक्रि गरिरहेको छ । यो अवस्था आउनुमा कर्मचारी र जनप्रतिनिकै संरक्षण रहेको स्वं नगरकी उपमेयर सुनिता गुप्ताकै आरोप छ ।

उनी भन्छिन् – ‘पटकपटक अनुगमनका निम्ति कर्मचारी र हाकिमलाई भने तर उहाँहरुले बेवास्ता गर्नुभयो । नाकामा ठेकेदारले नगरले तोकेको भन्दा ५ गुणा नदीजन्य पदार्थ निकालिसकेको छ ।’

नगरको नापजाँच का विषयमा नाकाको परिणाम नाप्ने नगरका इन्जिनियर सत्यम वर्मासँंग विहीबार परिणामबारे सोध्दा हालसम्म परिणाम एकीन नगरेको जवाफ दिएका थिए ।

उनले आफू विरामी रहेको र अनुगमनमा जान समेत नसकेको भन्दै तर्किने प्रयास गरेका थिए । जबकी विरामी छु भन्ने उनी नगरमा काम गरिरहेका थिए ।

नगरका प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेललाई कारबाहीका विषयमा सोध्न खोज्दा फोन नै उठाएनन् ।

सोही नगरका एक वडाध्यक्षले नाम नबताउने शर्तमा भने, ‘नगरपालिका, प्रहरी, प्रशासन जताततै सेटिङ्ग छ तपाईहरु नक्कली रसिदसहित समाचार लेख्दा समेत ठेकेदारलाई कारबाही नगर्नू के हो ? हामी के गर्न सक्छौ र ? मेयरको शेयर छ, फाँटमा कर्मचारी उनैका छन् । के गर्ने यस्तो कहिल्यै भएको थिएन् । हामी पनि आजित भयौँ ।’

यता जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले पठाएको पत्रको समेत सामान्य औपचारिकता देखाउन ठेकेदारलाई पत्राचार गरेर जवाफ विहिन बनेर उम्कन खोजेको नगरलाई प्रशासनले समेत कडाई गर्न सकेको छैन् ।

संरक्षित वन क्षेत्रमै पुगेर खोला उत्खनन्
नियमनकारी निकायकै संरक्षण पाएको समय माता निर्माण सेवाले बम्र्रलुट मच्याउँदा समेत छुट पाएपछि यतिबेला ठेकेदारको मनोमानी नै बढेको छ । ठेकेदारले सगरहवा नाकामा खोलैभरी नदीजन्य पदार्थ निकाल्दै हाल ठेक्का नै नलागेको जर्लैया घाट र कुटी नजिक बन र बस्ती क्षेत्रको संरक्षित भूभागबाटै नदीजन्य पदार्थ निकासी गरिरहेको छ । विहीबार प्रहरी सहित संचारकर्मीको टोली फ्लोअपका लागि जाँदा संरक्षित क्षेत्रमा उत्खनन् गरिरहेका ट्याक्टरको भागाभाग भएका थिए ।

सूचना पाटी झोलामा, ट्क्याक्टर संरक्षित क्षेत्रको खोलामा !
गत चैत्र २ गतेदेखि नदिजन्य उत्खनन् गर्दै आएको समयमाता निर्माण सेवा महिनादेखि घन परिणामको ५ गुणा उत्खनन् गरेपनि नियमनकारी निकायलाई प्रलोभनमा पारेर उत्खनन् गरिरहेको छ । उसले अवैध उत्खनन् गर्न झोलामा सूचना पाटी राखेर ट्याक्टरहरु बनक्षेत्र र संरक्षित क्षेत्रको खोलामा पठाएको हो । सार्वजनिक ठाउँमा राख्नुपर्ने सूचना पाटी झोलामा भेटिएको हो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२ शनिबार ००:००  ३ : ३२ बजे