२ असार २०८२, सोमबार | Mon Jun 16 2025

सगरहवा नाका फ्लोअपः ठेकेदारले दिनभर वन क्षेत्र उत्खनन गरे



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा खोलाको सगरहवा नाकाका ठेकेदारले वनक्षेत्र उत्खनन गरेका छन् । नदीजन्य पदार्थको दोहन मच्चाइरहेका ठेकेदारले शनिबार वन क्षेत्रमा प्रवेश गरी नदीजन्य पदार्थ उत्खनन गरेका हुन् ।

दर्जनौं ट्याक्टरले वन क्षेत्रमा दोहन गरिरहेको जानकारी सम्बन्धित निकायमा दिदाँ समेत नियामक निकाय मुखदर्शक बनेको छ ।

शनिबार नै ठेकेदारले वन क्षेत्र उत्खनन गरिरहेको जानकारी डिभिजन वन कार्यालय तौलिहवा, जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, कपिलवस्तु नगरपालिकालाई दिइएपनि वन क्षेत्र उत्खनन गर्ने ठेकेदारमाथि कुनै एक्सन चालिएन् ।

जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा खोलाको दोहन मच्चाइरहेका ठेकेदारमाथि कुनै कारबाही हुन नसक्नूलाई ठूलो मिलेमतोको शंकाका रुपमा स्थानीयले हेरेका छन् ।

नाकाको निकासी ठेक्का श्री समय माता निर्माण सेवाले पाएको छ । महाराजगञ्ज ठेगाना उल्लेख भएको यो निर्माण सेवामा भारतीय ठेकेदारको लगानी रहेको छ ।

भारतीय ठेकेदारको प्रत्यक्ष लगानी रहेको यस नाकामा सबैको मिलेमतोमा खोला दोहन भइरहेको हो ।

यस विषयमा कपिलवस्तु नगरका नगर प्रमुख सुदीप पौडेलले आफूले इन्जिनियरसहितको टोली नाका खटाएको बताए । गल्ती गर्नेमाथि कारबाही हुनेसमेत उनले प्रष्ट पारे ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२ शनिबार ००:००  ५ : ३२ बजे