२ असार २०८२, सोमबार | Mon Jun 16 2025

वाणगंगामा बालमैत्री सहजकर्ताहरूका लागि तीनदिने क्षमता विकास तालिम सम्पन्न



बाबुराम रायमाझी, जितपुर ।

वाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बालमैत्री स्थानीय शासनको दिगोपनाका लागि तीन दिने क्षमता विकास तालिम सम्पन्न भएको छ। वाणगंगा–१ मा आयोजित उक्त तालिममा नगरका ११ वटै वडाबाट प्रतिनिधित्व गर्ने बालमैत्री सहजकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो।

तालिमको समापन कार्यक्रममा नगर प्रमुख चक्रपाणि अर्यालले वाणगंगा नगरलाई २०७८ साल श्रावण १५ गते जिल्लाकै पहिलो बालमैत्री नगरपालिका घोषणा गरिएको स्मरण गराउँदै त्यस घोषणाको दीगोपनाका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे। उनले नगरलाई मुलुककै नमुना बालमैत्री नगरपालिका बनाउने उद्देश्यका साथ यस प्रकारका तालिमहरू महत्वपूर्ण हुने उल्लेख गर्दै सबैलाई आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

तीन दिनसम्म सञ्चालन भएको तालिममा प्रशिक्षक बाबुराम भट्टराईले बाल अधिकार, बालमैत्री शासन प्रणाली, बाल सहभागिता, अभिमुखीकरण र कार्यान्वयनका विषयमा सहभागीहरूलाई व्यावहारिक जानकारी र सीप प्रदान गरेका थिए ।

तालिम समापनका क्रममा सहभागीबाट मधु पान्डे र बाल कुमारी चौधरीले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे।कार्यक्रमको सहजिकरण युवा तथा खेलकुद शाखाका कर्मचारी इस्वरा अधिकारीले गरेकि थिइन ।स्थानीय बाल संरक्षण, अधिकारको सुनिश्चितता तथा बालमैत्री वातावरण जस्ता तालिमहरू प्रभावकारी हुने विश्वास सहभागीहरूले व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२ आइतबार ००:००  ८ : ०३ बजे