२ असार २०८२, सोमबार | Mon Jun 16 2025

बेलायत पठाइदिने भन्दै ११ करोड भन्दा धेरै ठगी गर्ने २ जना पक्राउ



काठमाण्डौ ।
आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा बेलायत पठाइदिने भन्दै ११ करोड रुपैयाँभन्दा धेरै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा मोरङको रतुवामाई नगरपालिका–१० घर भई काठमाण्डौ महानगरपालिका–६ सरस्वती नगर बस्ने ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका–१२ घर भई काठमाण्डौ महानगरपालिका–३२ नरेफाँट बस्ने ४७ वर्षीय अरुणराज शर्मा रहेका छन् ।

लक्ष्मण र अरुणले बेलायत पठाइदिने भन्दै ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यस्तै वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने भन्दै ठगी गर्ने भक्तपुर नगरपालिका–२ का ४४ वर्षीय रविन्द्र बासुकलालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले क्यानडा पठाइदिने भन्दै एक जनाबाट पाँच लाख ६० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताउनुभयो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२ मंगलबार ००:००  ४ : ३६ बजे