दिपा महत, पिपरा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका २ पिपरामा अवस्थित जनता माविलाई जंग फुड (पत्रु खाना) निषेधित सामुदायिक विद्यालय घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजनामा बुधबार एक कार्यक्रम गरी उक्त विद्यालयलाई जंग फुड निषेधित विद्यालय घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिती कपिलवस्तुका संयोजक बाबुराम आचार्यले जिल्लाकै नमुना जनता माविलाई जंग फुड निषेधित घोषणा गरिएकोमा यसलाई दिगोपना दिनुपर्ने बताए । यसैगरी जिल्लाका हरेक पालिकाले आफ्ना विद्यालयलाई जंग फुड निषेधित घोषणा गर्नुका साथै पोषणमैत्री नगर घोषणागर्नेगरी तयारी थाल्न आग्रह गरे । स्वास्थ्यनै जीवनको अमुल्य सम्पत्ती रहेकाले सबैजना स्वस्थ खानपीन र स्वस्थ जीवनशैली अपनाउन आग्रह गरे ।
कार्यक्रमकी अध्यक्ष तथा वाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले स्वास्थ जीवनयापनका लागि पनि यस्ता कार्यक्रम तथा अभियानले सकरात्मक प्रभाव पार्ने बताइन् । वाणगंगाले स्वास्थय र शिक्षाको विकासका लागि विभिन्न अभियान संचालन गरेको भन्दै अव सिंगो पालिकाका सबै विद्यालयलाई जंग फुड निषेधित विद्यालय घोषित गरिने बताइन् ।
यस्तै बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तीराम मरासिनीले विद्यार्थीको खानपीन र बानी ब्यवहारमा परिवर्तन तथा सुधार गर्नुपर्ने बताए । प्रदेशको शुद्ध खाना खाने अभियानलाई बाणगंगाले आत्मसाथ गरेको भन्दै अबको एक वर्षमा वाणगंगाका हरेक वडालाई पोषणमैत्री तथा सबै विद्यालयलाई जंग फुड निषेधित विद्यालय घोषणा गरिने बताए ।
नीति नियम बनाएर नै सामाजिक रुपान्तरणका लागि यस्ता अभियान संचालन गर्नुपर्ने उनको भनाई छ । यस्तै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले फास्टफुडले मुटुरोग, सुगर बढाउने, पाचन शक्ती कमजोर बनाउनका साथै डिप्रेसन, एनजाइटी जस्ता मानसिक समस्या देखिएको भन्दै यस्ता खाध वस्तु सेवन नगर्न आग्रह गरे ।
समाजमा स्वास्थ्य सम्बन्धी चेतना अभिबृद्धी गर्दै स्वस्थ बनाउन सबैजना सचेत बन्नुपर्ने ढकालको भनाई छ ।
पछिल्लो समय यस्ता अस्वस्थकर खानपानले नसर्ने रोगहरु बढेको भन्दै यस्को नियन्त्रण तथा सचेत नभएमा नसर्ने रोगले भयावह रुप लिने बताए । पछिल्लो समय विकसित देशहरुमा स्वस्थ खानपानको कारण नसर्ने रोगको गति घटेको भन्दै नेपालमा भने अस्तब्यस्त रहेको बताए ।
जिल्ला स्वास्थय कार्यालयले यस अघि ९ वटा पालिकाका ९ वटा विद्यालयलाई जंग फुड निषेधित विद्यालय घोषणा गरिसकेको भन्दै सबै विद्यालयलाई घोषणा भन्दापनि दिगोपना कायम गर्न आग्रह गरे ।
यस्तै वाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले विद्यालय क्षेत्रमा मात्र नभएर समुदायका सबै वर्गमा जंग फुड निषेधित गर्नेगरी अभियान चलाउनुपर्ने बताए ।
वाणगंगा नगरपालिकाले दिवाखाजा संगै घरबाट ल्याउने खाजामा बजारका खाना निषेधित गरेको भन्दै यसकालागि अनुगमन पनि गरिएको बताए । अब भने पालिकाका सबै विद्यालयमा जंगफुडको प्रयोग निषेध गर्ने गरी लाग्ने बताए । जंगफुडको प्रयोगले सिकाईको गुणस्तरमा पनि प्रभावपार्ने गरेको विभिन्न तथ्यांकले देखाएको भन्दै आफ्ना बालबालिकालाई स्वस्थ खानपिनको सेवन गराउन सबै अभिभावकलाई आग्रह गरे ।
कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष, विद्यालयका प्रअ, शिक्षक, स्वास्थ्य कार्यालयका कर्मचारी, संचारकर्मी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन स्वास्थ्य कार्यालयका श्रीधर खनालले गरेका थिए । यस अघि जिल्लाका ९ वटा सामुदायिक विद्यालयलाई जंग फुड निषेधित विद्यालय घोषणा गरिएको वरिष्ठ क्षयकुष्ठ निरिक्षक महोम्मद इरफानले बताए । उनले विद्यालयले विभिन्न ६ वटा मापदण्ड पुरा गरेकाले जंग फुड निषेत्र घोषणा गरिएको बताए । घोषणाले मात्र कार्यक्रम सफल नहुने भन्दै यसको निरन्तर अनुगमन गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया