२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

समुदाय–प्रहरी साझेदारीद्वारा शान्तिपूर्ण र सुरक्षित समाज निर्माणमा जोड



बाबुराम रायमाझी, बाणगंगा ।

वाणगंगा नगरपालिका–९ मा ईलाका प्रहरी कार्यालय पिपराको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत “शान्तिपूर्ण तथा सुरक्षित समाजका लागि नागरिक सुनुवाइ कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रमको मूल उद्देश्य स्थानीय समुदाय र प्रहरीबीचको आपसी विश्वास अभिवृद्धि गर्नु, सुरक्षा सम्बन्धी समस्या तथा सम्भाव्य चुनौतीबारे छलफल गर्नु र नागरिकका सुझावलाई समेट्दै प्रहरीको कार्यशैलीलाई जनमुखी बनाउनु रहेको थियो।

कार्यक्रमको प्रारम्भमा ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र जि.सी.ले कार्यक्रमको उद्देश्यबारे विस्तृत रुपमा प्रकाश पारेका थिए। उनले शान्ति सुरक्षाको अवस्था, प्रहरीको भूमिका, चुनौती र नागरिक सहभागिताको महत्वबारे श्रव्य–दृश्य माध्यमबाट प्रभावकारी प्रस्तुति दिएका थिए। प्रारम्भिक अध्ययनअनुसार वाणगंगा–९ मा हालसम्म प्रहरीमा कुनै गम्भीर घटना, लागुपदार्थ दुरुपयोग वा दुर्ब्यसनीसँग सम्बन्धित मुद्दा अभिलेख नभएको उल्लेख गर्दै स्थानीयवासीप्रतिको सकारात्मक दृष्टिकोण र सहकार्यको प्रशंसा गरेका थिए।कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष कमल पौडेलले कार्यक्रमलाई अत्यन्तै फलदायी भएको बताएका थिए। उनले प्रहरी प्रशासन र स्थानीय सरकारबीच समन्वय र सहकार्यलाई अझ मजबुत बनाउँदै शान्ति सुरक्षा कायम राख्न वडाबाट आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय नागरिकहरूले कार्यक्रमको क्रममा आफ्नो अपेक्षा र सुझावहरु खुलेर राखेका थिए। चोरी निकासी हुने नदीजन्य पदार्थ नियन्त्रण, नियमित प्रहरी गस्ती, रात्रीकालीन सुरक्षा व्यवस्थापन र विद्यालय वरिपरिका लागूपदार्थ प्रयोग नियन्त्रण जस्ता विषयमा गम्भीर ध्यानाकर्षण गराइएको थियो।कार्यक्रममा वडाभित्र रहेका टोल विकास संस्था, आमा समूह, युवा क्लब, पत्रकार, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, जनप्रतिनिधि तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले सामूहिक रूपमा प्रहरी–समुदाय साझेदारीले स्थानीय सुरक्षामा थप सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

कार्यक्रमको सहजिकरण ईलाका प्रहरी कार्यालय पिपराका इस्वरी प्रसाद भट्टराईले गरेका थिए। उनले नागरिक सुझावलाई अभिलेख गरेर आवश्यक कार्ययोजना बनाइने र प्रहरीको भूमिकालाई थप प्रभावकारी बनाइने जानकारी गराएका थिए।सामूहिक सहभागिता र सकारात्मक वातावरणमा सम्पन्न यस नागरिक सुनुवाइ कार्यक्रमले वाणगंगा–९ मा प्रहरीप्रतिको विश्वास अभिवृद्धि गर्नुका साथै सुरक्षित र समुन्नत समाज निर्माणतर्फको मार्ग प्रशस्त गरेको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२ बिहिबार ००:००  ५ : १६ बजे